मकवानपुरमा कडा निषेधाज्ञा: हिँडडुल गर्न पनि नपाइने - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

मकवानपुरमा कडा निषेधाज्ञा: हिँडडुल गर्न पनि नपाइने



मकवानपुर- जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैशाख १९ गते राति १२:०० देखि जिल्लाभर कडा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा वैशाख ३१ गते राति १२:०० बजेसम्म रहनेछ ।

जारी निषेधाज्ञामा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न नजिकका पायक पर्ने स्थानमा जानबाहेक अन्य अनावश्यक काम हिँड्डुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले जनभावना अनुसार नै निषेधज्ञा लागू गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

बैठकले अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्रीवितरण गर्ने पसल बिहान ५ देखि ९ बजेसम्म मात्र खोल्न पाइने, औषधि पसल, पेट्रोल पम्प, ग्यास डिपो, अक्सिजन सिलिन्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कशप नियमित सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

उनका अनुसार, बैठकले जिल्लामा एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधनबाहेक कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

त्यस्तै, बैंक, वित्तीय संस्था तथा सहकारीबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भीडभाड नहुने गरी आलोपालो विधिबाट बिहान ९ देखि अपराह्न ४ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय बैठकले गरेको प्रजिअ पाण्डेले जानकारी दिए ।