पैसामा हेरी केनको तस्बिर - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

पैसामा हेरी केनको तस्बिर



लन्डन : रुस विश्वकपका गोल्डेन बुट विजेता हेरी केनको तस्बिर राखिएको पैसा बजारमा ल्याइएको छ। यो पैसा बेलायती सरकारले भने छपाएको होइन, बेलायती एक चित्रकारले पाँच रुपैयाँको नोटमा केनको तस्बिर राखेर बजारमा ल्याएका हुन्। यद्यपि यो कारोबारलाई बेलायत सरकारले कानुनअनुसारकै मान्ने गरेको छ।

रुस विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका केनको सम्मानमा चित्रकार ग्राहम सर्टले पाँच रुपैयाँको नोटमा उनको तस्बिर राखिदिएका हुन्। केनको तस्बिर राखिएको पाँच रुपैयाँको त्यस्ता ६ वटा नोटबाट उनले बजारमा कारोबारसमेत गरिसकेका छन्।

उनले आफूले यसअघि नै घोषणा गरेअनुसार ती रकम वेल्सस्थित मर्थिर टिड्फिल सहरका विभिन्न रेस्टुरेन्टमा कारोबार गरेको जनाएका छन्। जुन नोट आफैं हजारौं रकममा बिक्री हुन सक्छन्। चित्रकार सर्टले आफूले तयार पारेकामध्ये प्रत्येक नोट ५० हजार रकम बराबरको रहेको जनाएका छन्।

‘मैले यसअघि नै घोषणा गरिसकेको थिएँ कि, केनको तस्बिर रहेका ती नोटहरू विभिन्न रेस्टुरेन्ट वा पसलहरूमा कारोबार गर्नेछु’, सर्टले भनेका छन्, ‘त्यही योजनाअनुसार मैले पैसाको कारोबार गरिसकेको छु। अब म के चाहन्छु भने ती रकम गरिबहरूले फेला पारून् र त्यही रकम बेचेर उनीहरूले थप रकम पाऊन्।’ सर्टले आफूले कारोबार गर्दा कसैले पनि ती रकमबारे चाल नपाएको बताएका छन्।

चित्रकार सर्टले आफूले निकै मेहनत गरेर नोटमा केनको तस्बिर राखेको बताएका छन्। ‘मैले यसका लागि विशेष मेहनत गरेको छु। विशेष खालको निडल प्रयोग गरेर उनको तस्बिरलाई नोटमा राखेको हुँ’, सर्टले भनेका छन्, ‘विश्वकपमा देशका लागि महत्वपूर्ण योगदान पुर्‍याएको सम्मानस्वरूप मैले यो मेहनत गरेको हुँ।’

सर्टले आफूले तयार पारेका त्यस्ता नोटमध्ये एउटा उनै केन र अर्को बेलायती फुटबल संघलाई उपहार दिएको पनि बताएका छन्।