हेर्नुस यस्तो बन्ने भो धरहरा ! तीन अर्ब रुपैयाँ खर्च हुने प्रतिवेदन पेस - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

हेर्नुस यस्तो बन्ने भो धरहरा ! तीन अर्ब रुपैयाँ खर्च हुने प्रतिवेदन पेस



काठमाडौं, १२ चैत ।

निर्माण अभियान थालिएको एक वर्षपछि धरहराको नक्सा तयार भएको छ । ‘कस्ट इस्टिमेट तथा ड्रइङ जिडाइन’ बने पनि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न बाँकी छ ।

कन्सल्टेन्ट कम्पनी एमआरबी एसोसिएट जेबीले करिब सात महिना लगाएर धरहराको ‘कस्ट इस्टिमेट तथा ड्रइङ जिडाइन’ तयार गरेको हो ।

जेबीले पुरातत्व विभागलाई नक्सा बुझाइसकेको छ । कम्पनीले ५९ लाख ९० हजार रुपैयाँमा नक्सा तयार पारेको हो । विभागका महानिर्देशक भेषनारायण दाहालले नक्सा अध्ययन भइरहेको बताए ।

‘केही दिनअघि कन्सल्टेन्टले नक्सा पेस गरेका छन् । हामीले अध्ययन गरेर केही सुझाब दिएका छौँ,’ दाहालले भने, ‘अबको केही दिनमै नक्सा फाइनल हुनेछ ।’ कन्सल्टेन्ट कम्पनीले धरहरा निर्माण गर्न तीन अर्ब रुपैयाँ खर्च हुने प्रतिवेदन पेस गरेको विभागले जनाएको छ ।

विभागका अनुसार दु्रत गतिमा काम भए तीनदेखि चार वर्षभित्र निर्माण हुन सक्नेछ । विभागका अनुसार नेपाल टेलिकमले धरहरा निर्माण गर्नेछ । तयार भएको नक्सा पनि टेलिकमलाई हस्तान्तरणको तयारी छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गत वर्ष ५ फागुनबाट ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो । धरहरा ४२ रोपनी क्षेत्रफलमा बन्नेछ । नवनिर्मित धरहराले गोश्वारा हुलाक कार्यालय र टक्सार कार्यालय रहेको क्षेत्रलाई समेत समेट्नेछ ।

‘धरहरा अत्याधुनिक र भव्य बन्नेछ । यसले ओगट्ने क्षेत्र फारकिलो छ,’ पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘धरहरा निर्माणकै लागि गोश्वारा हुलाक कार्यालय र टक्सार कार्यालय रहेको जग्गा पनि लिइनेछ । दुवै कार्यालयलाई यथाशक्य चाँडो सर्न भनिसकेका छौँ । उनीहरू पनि राजी भएका छन् ।’

धरहराको उचाइ २ सय ४५ फिट अग्लो तथा ११ तलाको बन्नेछ । नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट हुनेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ ।

त्यस क्षेत्रमा २ हजार ७० वटा गाडी पार्किङ गर्न सकिने अत्याधुनिक पार्किङ बनाइने भएको छ । भावी पुस्ता तथा पर्यटकको जानकारीका लागि अत्याधुनिक र सुविधासम्पन्न संग्रहालयसमेत बनाउने योजना छ । खबर आजको नयाँपत्रिका दैनिकमा छ ।