जन्मदिनको अवसरमा गायिका हेमन्ता शर्माद्बारा सहारा घरमा सहयोग
कैलाली । चर्चित गायिका हेमन्ता शर्माले कैलालीको बर्दगोरीयामा रहेको सहारा घरमा जन्मदिन मनाएकी छिन् । शुक्रबार गायिका शर्माले सहारा घरमा रहेका असहायलाई सहयोग तथा भोजन गराई जन्मदिन मनाएकी हुन् ।
जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई बचत गरी असहायलाई सहयोग गर्ने उद्देश्यले धनगढीबाट बर्दगोरियाको साहारा घर पुगेको गायिका शर्माले बताईन । राज्यको दायित्व एक ब्यक्तीको अगुवाईमा संस्थाले पुरा गरीहेकोमा सहारा घरका संचालक बल बहादुर बिष्टको प्रसंसा गर्दै उनले सबैले सक्दो सहयोग गर्नु पर्ने बताईन ।
आफ्नो क्षेत्रबाट सक्ने सहयोग अन्तर्गत साहारा घरको प्रचार प्रसार संगै मानवता उजागर गर्ने हेतुले साहारा घर, असहाय र मानवता सम्बन्धी एक गितको अडियो , भिडियो निर्माण गरी सहयोग गर्ने प्रतिबद्धता समेत गायिका शर्माले गरेकी छिन् ।
गायिका शर्मालाई धन्यबाद दिदै संस्थाका संचालक बिष्टले पछिल्लो समय धेरै मानिसहरु आफ्नो जन्मदिन मनाउन साहारा घर पुग्ने गरेको बताए । सम्पुर्णको सहयोगले असहायहरुको ब्यवस्थापनमा सहयोग पुगेको र आफुमा उर्जा थपिएको भन्दै उनले असहायहरुको अभिभावकत्व सरकारले ग्रहण गर्नुपर्ने बताए । मानव सेवामा समर्पित सहारा घरमा बिरामी हुदा औषधी अभाव, स्वास्थ्यकर्मी अभाव, आपतकालिन अवस्थामा एम्बुलेन्स अभाव तथा अन्य ब्यवस्थापनको समस्याहरु प्रमुख रुपमा देखिएको संचालक बिष्टले दुखेसो पोखे ।
साहारा घरले मानसिक रुपमा सन्तुलन गुमाएका , सडकका पेटीहरुमा बस्दै आएका अनाथ , असहायहरुलाई संरक्षण दिइरहेको छ । सहारा घरमा हाल ७० जना मानसिक रोगिहरु बस्दै आएका छ्न भने बिना औषधि मानसिक रोग निको पारेर हालसम्म ८३ जनालाई परिवार मिलान गराइएको छ ।