मोदीको साम्राज्य हल्लाउने हेमन्त सोरेन जो बिर्सा मुन्डालाई आदर्श मान्छन - Himal Post Himal Post
  • १३ मंसिर २०८१, बिहीबार
  •      Thu Nov 28 2024
Logo

मोदीको साम्राज्य हल्लाउने हेमन्त सोरेन जो बिर्सा मुन्डालाई आदर्श मान्छन



एजेन्सी- भारतको झारखण्डमा भएको विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मत परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले सत्ता छोड्नुपर्ने लगभग निश्चित देखिन्छ ।

झारखण्डका ८१ वटा विधानसभा सिटमध्ये कांग्रेस, झारखण्ड मुक्ति मोर्चा र राष्ट्रिय जनता दलको गठबन्धनले ४५ सिटमा अग्रता लिएको छ । सत्तारुढ भाजपाले २५ सिटमा र बाँकी सिटमा अन्य दलले अग्रता लिइरहेका छन् ।

मत परिणामबाट झारखण्ड मुक्ति मोर्चा (जेएमएम) का कार्यकारी अध्यक्ष हेमन्त सोरेन नयाँ मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । त्रिदलीय गठबन्धनले सोरेनलाई भावी मुख्यमन्त्री बनाउने भनेर घोषणा गरिसकेको छ । यो घोषणासँगै सोरेन झारखण्डको नयाँ मुख्यमन्त्री बन्दैछन् ।

जेएमएमका कार्यकारी अध्यक्ष समेत रहेका सोरेनले चुनावी नतिजाबाट आफू निकै खुसी भएको प्रतिक्रिया दिएका छन् । जनताले स्पष्ट जनादेश दिएको भन्दै सबैप्रति आभारी व्यक्त समेत गरेका छन् ।

त्यस्तै झारखण्डको मत परिणामपछि कांग्रेसका नेता पी चिदम्बरमले भाजपाले निरन्तर सत्ता गुमाउँदै गएको भन्दै ट्विट गरेका छन् । उनले हरियाणामा भाजपाले चोट व्यहोरेको, महाराष्ट्रमा जनताले नै भाजपालाई खारेज गरेको र झारखण्डमा लज्जास्पद हार व्यहोरेको भनेका छन् ।

झारखण्डमा बहुमतका लागि ४१ सिट चाहिन्छ । विधानसभाका लागि यो पटक पाँच चरणमा झारखण्डमा चुनाव भएको थियो । अन्तिम चरणको मतदान शुक्रबार भएको थियो ।

अधिकांश एक्जिट पोलले कांग्रेस–जेएमएम–राजद गठबन्धनलाई अघि देखाएका छन् । हाल झारखण्डमा भाजपाका रघुबर दासको नेतृत्वमा सरकार छ । अब उनको सरकार कायम नरहेन संकेत देखिएको छ । यद्यपि, दास पाँच वर्षको कार्यकाल पूरा गर्ने राज्यका पहिलो मुख्यमन्त्री हुन् ।

हाल झारखण्ड विधानसभामा भाजपाका ४४ विधायक छन् । यो पटकको चुनावमा भाजपाविरुद्ध त्रिदलीय गठबन्धन बनेपछि भाजपाले झण्डै आधा सिट गुमाउनु परेको छ ।

नयाँ मुख्यमन्त्री बन्दै सोरेन

हेमन्त सोरेन झारखण्डका चर्चित राजनीतिज्ञ हुन् । उनको जन्म सन् १९७५ मा झारखण्डको रामगर्ड जिल्लामा भएको थियो । उनले पटना हाइस्कुलबाट प्रवीणता प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरेका छ्न । निर्वाचन आयोगमा पेश गरिएको व्यक्तिगत विवरणमा उनी बिआईटी मेसरामा मेकानिकल इन्जिनियरिङमा भर्ना भएको तर कोर्स पूरा गर्न नसकेको उल्लेख छ ।

झारखण्डको नयाँ मुख्यमन्त्री बन्न लागेका सोरेन झारखण्ड मुक्ति मोर्चाका कार्यकारी अध्यक्ष समेत हुन् । उनी सन् २००९ देखि २०१० सम्म राज्यसभाको सदस्य बनेका थिए ।

सोरेनले यसअघि सन् २०१३ जुलाई १५ गते झारखण्डको मुख्यमन्त्रीको सपथ ग्रहण गरेका थिए । झारखण्डमा लगाइएको राष्ट्रपतीय शासन हटेपछि कांग्रेस र आरजेडीको सहयोगमा उनी मुख्यमन्त्री बनेका थिए ।

सोरेनका २ छोरा, श्रीमति, एक जना भाइ र एकजना बहिनी छन् ।

सोरेनले १९ औं शताब्दीका जातीय योद्दा बिर्सा मुन्डालाई आफ्नो आदर्श व्यक्ति मान्छन् । मुन्डाको साहस र र वीरताबाट आफू निकै प्रभावित भएको भनेर उनले पटकपटक भन्दै आएका छन् ।

आदिवासीका नेता

सन् २०१६ मा भाजपा सरकारले भूमिसम्बन्धी २ वटा कानुनलाई संशोधन ग‍र्न खोजेपछि सोरेनले विरोध गरेका थिए । कानुन संशोधन गरेर आदिवासीको भूमि बाहिरबाट आएका व्यक्तिलाई कब्जा गर्ने अनुमति दिन लागेको भन्दै उनी विरोधमा उत्रिएका थिए । साथै भाजपाको विरोधमा मानिसहरुले व्यापक विरोध गरेका थिए ।

सन् २०१७ मा मुख्यमन्त्री रघुबर दासले सोरेनलाई ग्लोबन इन्भेष्टर्स समिटमा निमन्त्रणा गरेका थिए । तर सोरेनले उक्त सम्मेलनलाई ‘भूमि लुटाहाको महा चिन्तन शिविर’ भन्दै आलोचना गरेका थिए । उक्त सम्मेलन आदिबासी, मूलबासी र किसानको भूमि छिन्न आयोजना गरिएको सोरेनको आरोप थियो ।

सोरेनले महिलाविरुद्ध हुने हिंसा, मदिराविरोधी अभियान, गरीबी उन्मूलन लगायत विभिन्न सामाजिक अभियानमा समेत सहभागी हुँदै आएका छन् ।

सोरेनले सन् २०१७ को अक्टोबरमा ११ वर्षीया बालिका सन्तोषी कुमारीको भोकमरीबाट ज्यान गएपछि उक्त घटनाबारे सिबिआईले अनुसन्धान गर्नुपर्ने माग गरेका थिए । सन्तोषीका बाबुआमालाई रासन कार्ड नदिएको कारण उनको मृत्यु भएको भन्दै उनले घटनाबारे छानबिन गर्नुपर्ने माग गरेका थिए ।

त्यस्तै सोरेनले मदिराविरोधी अभियानमा सहभागी हुँदै आएका छन् । झारखण्डमा समेत बिहारमा जस्तै मदिरामाथि प्रतिबन्ध लगाउनुपर्ने उनको भनाइ छ ।

उनले एक पटक भनेका थिए- ‘गाउँमा कुनै पनि सरकारले रक्सी खोल्नु हुन्न किनभने यसले झारखण्डका गरीब आदिबासीको जीवन बर्बाद गर्छ । म गाउँमा बस्ने झारखण्डबासीलाई रक्सी पसल बन्द गर्न भन्दै अपिल गर्न चाहन्छु ।’

मदिरामाथि प्रतिबन्ध लगाउने कार्यमा महिला संगठनहरुले समेत समर्थन गर्नुपर्ने सोरेनले बताउँदै आएका छन् ।