जसले हेलिकप्टरको लिएर पुगे, टिकट पनि खोसियो, आफ्नै कार्यकर्ताबाट कुटिए
काठमाडौं– उम्मेदवारी मनोनयनको दोस्रो तथा अन्तिम दिन आज (सोमबार) मनोनयनका क्रममा विभिन्न ठाउँमा झडप भएका छन्। अधिकांश झडप भने एउटै पार्टीका दुई पक्षबीच भएको छ।
खोटाङमा आफ्नै कार्यकर्ताबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार कुटिएका छन् । मनोनयनका लागि हेलिकप्टर लिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकामा मेयरमा उम्मेदवारी दर्ता गराउन पुगेका धर्मराज पोखरेललाई कांग्रेस कार्यकर्ताहरुले नै कुटेका छन्।
उनलाई टिकट दिने निर्णय गलत भएको भन्दै कार्यकर्ता आन्दोलित थिए। कांग्रेस प्रदेश कमिटीले दिक्तेलको मेयरमा पोखरेलाई उम्मेदवार बनाएपछि दिक्लेलस्थित पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो। त्यसपछि पोखरेल उम्मेदवारी दर्ताका लागि हेलिकोप्टर लिएर पुगेका थिए।
पोखरेल नभइ कांग्रेस जिल्ला समितिका उपसभापति तिर्थराज भट्टराईलाई मेयरको टिकट दिनुपर्ने माग कार्यकर्ताको थियो। दिक्तेलका सबै वडा, नगर कमिटी र जिल्ला समितिले भट्टराईलाई सिफारिस गरेपछि प्रदेशले पोखरेललाई टिकट दिएको हो।
कार्यकर्ताबाट पोखरेल लखेटिएपछि उनको टिकट खोसेर अन्तिममा भट्टराईलाई नै टिकट दिइएको छ। मनोनयन दर्ता गर्न हेलिकप्टर लिएर पुगेका उनको टिकट पनि खोसिएको छ भने आफ्नो कार्यकर्ताले कुटेका छन् ।
माओवादीमा पनि आफ्नैले कुटे
त्यस्तै मनोनयन दर्ताको क्रममा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रका दुई पक्षबीच झडप भयो। टिकट पाउने र स्वतन्त्र उम्मेदवारी दिने समूहबीच झडप भएको हो।
दुई पक्षबीचको झडपले उग्र रुप लिएपछि अश्रुग्यास समेत प्रहार भएको थियो। अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइयो। त्यसपछि त्यहाँ सेना समेत परिचालन गरिएको छ।
माओवादी केन्द्रले उक्त नगरपालिकामा कृष्णप्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ। २०७४ सालमा मेयर बनेका अमनसिंह तामाङले दोहोरिन चाहेका थिए। तर, टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्।