‘हेग’ बारे बाबुरामको यस्तो टिप्पणी

काठमाडौँ -समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ‘आँखाको बदला आँखा’ले सारा संसारलाई अन्धो बनाउने भन्दै ‘हेग’लाई ठट्टाको विषय बनाउन नहुने टिप्पणी गरेका छन् ।
भट्टराई सशस्त्र द्वन्द्वताका तत्कालीन विद्रोही पक्ष माओवादीका दोस्रो बरियताका नेता थिए । पछिल्लो समयमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सशस्त्र द्वन्द्वकालीन समयमा भएका गम्भीर किसिमका मानवाधिकार हननका पीडितलाई न्याय दिनुपर्ने आवाज उठिरहेको छ ।
भट्टराईले हेगलाई ठट्टाको विषय बनाउन नहुने भन्दै वृहत शान्तिसम्झौता र सत्य निरुपण तथा मेलमिलाप आयोग कुनै एउटा पार्टी र व्यक्तिको ठेक्का नभएको तिखो टिप्पणी गरेका छन् ।
‘आइतवार एक ट्वीट गर्दै भट्टराईले भने, ‘हेगलाई ठट्टामजाकको विषय नबनाऔं, वृहद शान्तिसम्झौता र सत्यनिरूपण तथा मेलमिलाप कुनै एउटा पार्टी/व्यक्तिको मात्र ठेक्काको विषय हैन ।’
भट्टराईले नेपालको शान्ति प्रक्रिया सबै पार्टी र राष्ट्रको सामूहिक स्वामित्व र जिम्मेवारीको विषय हो रहेको भन्दै संक्रमणकालीन न्याय सम्पादन छिटो टुंग्याउनुपर्ने बताएका छन् ।
‘यसलाई छिटो टुंग्याऊँ,’ उनले आफ्नो ट्वीटमा भनेका छन्, ‘आँखाको बदला आँखा’को हम्मुराबीयन सोचले हामी सबैको आँखा फुटाउनेछ ।’

