डाक्टरले हेल्थपोस्टमै थुनेर गरे बलात्कार, दिए चरम यातना - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

डाक्टरले हेल्थपोस्टमै थुनेर गरे बलात्कार, दिए चरम यातना



रौतहट – बलात्कारको आरोपमा फेरी अर्का डाक्टर पक्राउ परेका छन् । सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ वर्षीय सुधिरकुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ।

यमुनामाई गाउँपालिकाका सिंहलाई एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । गत मंसिर १८ गते चितवनबाट रौतहट घुमफिर गर्न आएकी एक ३० वर्षीया महिला घर फर्कन गौर बसपार्कमा बसको प्रतीक्षा गरिरहेकी थिइन्।

सोही मौका पारी डाक्टर सिंहले उनलाई चितवन जाने बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सरुअठा हेल्थपोस्ट लगेका र त्यहीँ रातभर थुनेर बलात्कार गरेको खुलेको प्रहरीले बताएको छ।

आफूलाई चरम यातना दिई बलात्कार गरेको भन्दै ती महिलाले भोलिपल्टै विभिन्न महिला अधिकारवादी संघसंस्था र मकवानपुर प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रौतहटमा दोषी सिंहमाथि कडा कारबाहीका लागि जाहेरी दर्ता गराएकी थिइन्। पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको छ।

उनको जाहेरीको आधारमा डाक्टर सिंहलाई पक्राउ गरी आवश्यक अनुन्धान भइरहेको रौतहट प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए। पीडितको जाहेरीपछि शुक्रबार साँझ डाक्टर सिंहलाई सदरमुकाम गौरमै नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरअन्तर्गत अपराध अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए।

प्रहरी हिरासतमा रहेका डाक्टर सिंह सरुअठा हेल्थपोस्टमा अहेब पदमा कार्यरत भए पनि उनी भारतको दरभंगाबाट बिडिएस डेन्टिस्ट पढेर सदरमुकाम गौरस्थित दातको निजी क्लिनिक सञ्चालन गरी डाक्टरसमेत लेख्ने गरेका छन्।