ऐले सम्म निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा म अचम्म परेको छु :प्रम ओली - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

ऐले सम्म निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा म अचम्म परेको छु :प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लामो समयदेखि गरिएको अनुसन्धानबाट निर्मला पन्तको हत्यारा पत्ता नलाग्नु आश्चर्यजनक रहेको बताउनु भएको छ । प्रहरीको पुरै संयन्त्र प्रयोग गरिएको उल्लेख गर्दै उहाँले हत्यारा जुनसुकै हालतमा पक्राउ गरिने समेत उहाँले दाबी गर्नुभयो । एआईजी लेभलको अनुसन्धान जारी रहेको बताउँदै उहाँले निर्मला हत्याप्रकरणमा शुरुमै प्रहरीबाट समेत गल्ती भएको बताउनुभयो । नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

एक फरक प्रसंगमा बोल्दै उहाँले मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा आफू पनि खुशी हुने बताउनुभएको छ । ‘बालबालिकाको चेहरामा खुशी देंखे भने म पनि खुशी हुन्छु’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘नयाँ पिँढीको चेहरामा मुस्कान हुनुपर्दछ ।

मानिसहरु भोकबाट मुक्त हुनुपर्दछ । कठ्यांग्रिएर मर्ने अवस्था आउनु हुँदैन । समाज समतामुलक हुनुपर्दछ । त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुशी हुन्छु ।’ बालबालिकाहरुले प्रधानमन्त्री ओलीलाई बाल्यकाल कसरी वित्यो भनेर जिज्ञासा राखेका थिए । पूर्वी पहाडको तेह्रथुम जिल्लाको छातेढुंगामा २००८ सालमा जन्मिएको सुनाउँदै प्रधानमन्त्री ओलीले प्राथमिक स्कूल पढ्दा दुई प्रकारका होमवर्क गर्नुपरेको सुनाउनु भएको थियो । ‘एउटा विद्यालयका शिक्षकले दिएको होमवर्क र अर्को घरमै सृजना हुने होमवर्क जस्तै घाँस दाउरा, गाई बाख्राको हेरचाह आदि’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘दुवै होमवर्क म कुशलतापूर्वक गर्थें ।’

प्रधानमन्त्री ओलीलाई सामुदायिक विद्यालयका एक विद्यार्थीले सोधे ‘सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नै पुग्दैनन् । शिक्षाको गुणस्तर कसरी वृद्धि हुन्छ ?’ प्रधानमन्त्री ओलीले विद्यार्थीलाई पाठ्यपुस्तक नपुग्ने विषय अब इतिहास भइसकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो ‘समयमा पाठ्यपुस्तक नपुग्ने अब हुँदैन र, आगामी वर्षदेखि विद्यालय उमेरका कोहीपनि बालबालिका विद्यालय बाहिर पनि हुदैनन् ।’ प्रधानमन्त्री ओलीले अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकोले त्यसको जानकारी लिनैपर्ने तर त्यसो गर्दा नेपाली भाषा नजाने पनिहुने अथवा नेपाली भाषा नजानेकोमा गर्व गर्न नहुने बताउनुएको छ ।‘विद्यालयहरुले अंग्रेजीमा ध्यममा पढाउनु राम्रै हो । त्यसो गर्दा नेपाली भाषा चाँही नजाने पनि अथवा नपढाए पनि हुन्छ भन्ने होइन ,आफ्नो राष्ट्रिय भाषा र मातृभाषामा सबैको दख्खल हुनुपर्दछ ।’