निर्मला हत्या प्रकरण: केही दिन अशान्त रहेको महेन्द्रनगर सामान्य बन्दै - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

निर्मला हत्या प्रकरण: केही दिन अशान्त रहेको महेन्द्रनगर सामान्य बन्दै



महेन्द्रनगर : १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर सामान्य बन्दै गएको छ ।

भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै एक सातादेखि भीमदत्तनगर र आसपासको क्षेत्रमा स्थानीयबासीले आन्दोलनलाई सशक्त बनाएका थिए ।

सोही क्रममा भीमदत्तनगरमा गत बिहीबार र शुक्रबार दोहोरो झडप हुँदा स्थिति अशान्त बनेको थियो ।
शान्ति सुरक्षा नै खलबलिने स्थिति आएपछि गत शुक्रबार रातिदेखि विभिन्न समयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाउँदै आएको कफ्र्यू अहिले अवस्था सामान्य बन्दै गएपछि खुकुलो बनाउँदै लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।

मङ्गलबार राति ८ देखि बुधबार बिहान ४ बजेसम्म यहाँ कफ्र्यू लगाइएको थियो । स्थिति सहज बनिरहेको बताउँदै प्रहरी उपरीक्षक कडायतले अवस्था सामान्य भएसँगै कफ्र्यू हटाइने बताउनुभयो ।
सरकारले गठन गरेको उच्चस्तरीय छानविन समिति र जिल्ला आएको नयाँ नेतृत्वलाई बालिका हत्याकाण्ड छानविन गर्न दिन यहाँको वातावरण शान्तिपूर्ण बनाउन सबै क्षेत्र र तह तप्काबाट पहल भएको थियो ।

घटनामा संलग्न हुनसक्ने आशङ्कासहित प्रहरीले भीमदत्तनगरपालिका–१८ निम्बुखेडाका रोशनी बम र बबिता बमलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

घटनाबारे धेरै कोणबाट गहनरूपमा अनुसन्धान भईरुहेको छ । बाह्य स्थिति सहज बनेपछि अनुसन्धान गर्न थप बल पुगेको छ । आन्दोलनका क्रममा घाइते भएका आन्दोलनरत पक्ष र प्रहरीको भीमदत्तनगरदेखि काठमाडौँसम्म विभिन्न अस्पतालमा उपचार हँुदैछ । घाइतेको उपचार पनि सरकारले गर्ने भएको छ ।

यस्तै, १३ वर्षीय निर्मला पन्त हत्याको विषयलाई लिएर भीमदत्तनगर बजारमा भएको प्रदर्शनका क्रममा प्रहरी संगको झडपमा परि घाइते भएका चारजनालाई शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले आर्थिक सहयोग गर्नुभएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचार गराई रहेका अर्जुन भण्डारा, चेतन भट्ट, मञ्जु गिरी र तेजराज भट्टलाई भेटेर नगर प्रमुख ऐरले २५ हजार आर्थिक सहयोग गर्नुभएको हो । रासस