महिला हत्याको आरोपमा नेकपाका नेता पक्राउ
विराटनगर- मोरङको बेलबारी- ४ बाट गत फागुन १७ गते शुक्रवार रातिबाट हराइरहेकी एक महिलाको स्थानीय नेकपाका नेताद्वारा हत्या गरी फालेकाे हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।
स्थानीय २६ वर्षीया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका प्रहरीले बेलबारीका नेकपा नेता योगेन्द्र गुरुङलाई ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले ईलामबाट पक्राउ गरी अनुसन्धान थालेकाे हाे ।
अनुसन्धानका क्रममा महिलाको हत्या गरी कोशीमा फालिएको हुनसक्ने भएकाेले साेहीअनुसार अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय माेरङका एसपी मनाेज केसीले बताए । शव नभेट्दासम्म योजना बनाएर हत्या गरेकाे भन्न सक्ने अवस्था नरहेकाेले अहिले प्रमाण जुटाउने काम भइरहेकाे एसपी केसीले बताए । अनुसन्धानकाे क्रममा फरक-फरक काेणबाट हेरिने भएकाेले साेहीअनुसार काम भइरहेकाे उनकाे भनाइ छ ।
प्रहरीमा गुरुङले दिएकाे बयानका आधारमा कोशीमा शव बगाएकाे आशङ्कामा २ दिनदेखि प्रहरीले शव खोजेपनि फेला पार्न सकेको छैन । फागुन १७ गतेबाट हराइरहेकी युवती नभेटिएपछि बेलबारी प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनाको एक सातापछि शुक्रवार गुरुङलाई नियन्त्रणमा लिएको थियो । केही दिनदेखि गुरुङसमेत बेलबारी छोडेर सम्पर्कविहीन भएपछि प्रहरी उनको खोजीमा लागेको थियो ।
प्रहरीले शुक्रवार नै गुरुङले प्रयोग गर्दै आएको बा.१५ प ७९१६ नम्बरको कार घरबाटै नियन्त्रणमा लिएको थियाे । युवती हराएको रात उनीहरू सँगै रहेको र उनी घर नफर्किएपछि ती महिलाका परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएकाे थियाे । युवती हराएपछि गुरुङले ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेका थिए । उनले गर्लफ्रेण्ड हराई भन्दै फोन गरेको र अनुसन्धानकाे क्रममा उनलाई केन्द्रित गरी प्रहरीले उनीमाथि अनुसन्धान थालेकाे थियाे । अनुसन्धानका क्रममा धेरै कुराहरू आएकाे भएपनि प्रमाण जुटाउने क्रममा प्रहरी रहेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।
बेलबारी ४ बुधबारे निवासी ती महिला पहिलो श्रीमानसँग सम्बन्ध-बिच्छेद गरेर माइतीघरमा बस्दै आएकी थिइन् । गुरुङ भने श्रीमती र छोराहरूसँग काठमाडौंमा बस्दै आएका छन् ।