हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन कार्य चैत ५ गतेदेखि - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन कार्य चैत ५ गतेदेखि



काठमाडौँ, चैत १  गते । 

परजीवीबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन कार्य चैत ५ गतेदेखि सुरु हुने भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यले दुई चरणमा गरी सुरु हुने हात्तीपाइलेको औषधि सेवन अभियान पहिलो चरणमा चैत ५ देखि ७ गतेसम्म र दोस्रो चरणको अभियान चैत १७ देखि १९ गतेसम्म सञ्चालन गरिने जानकारी दिनुभयो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महाशाखाले पहिलो चरणमा भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, अडाम, बझाङ, बाजुरा र दार्चुला जिल्लामा खुवाउन लागेको जानकारी दिएको छ ।

महाशाखा प्रमुख डा. आचार्यले दोस्रो चरणमा औषधि खुवाइने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तु रहेको जानकारी दिनुभयो ।  सन् २००० देखि हात्तीपाइलेको औषधि सेवन सुरु गरिएको हो ।  नेपालमा हालसम्म पटकपटक गरी १० करोडभन्दा बढी मात्रा औषधि सेवन गराइसकिएको छ ।

हात्तीपाइले रोग नियन्त्रण कार्यक्रमका फोकलपर्सन तुलसी अधिकारीले दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी महिला, छारे रोगी तथा सिकिस्त बिरामीले हात्तीपाइले रोगको औषधी खान नहुने जानकारी दिनुभयो ।  खाना खाएपछि मात्रै औषधी खान उपयुक्त हुने सल्लाह उहाँले दिनुभयो ।

उहाँले यसपटक एक करोड आठ लाख जनसङ्ख्यालाई औषधि खुवाउने लक्ष्य लिएको बताउनुभयो ।  हात्तीपाइले रोगसम्बन्धी औषधी खुवाउने कार्यक्रममा ४० करोड रुपियाँ बजेट छुट्याइएको छ ।