जनमुक्ति सेनाद्वारा हतियार उठाउने चेतावनी
काठमाडौं– बहिर्गमित जनमुक्ति सेना नेपालले आफ्नो संगठनले उठाएका जायज मागहरु सरकार तथा सरोकारवाला पक्षले तत्काल पूरा नगरे आफूहरु आफ्नो सिपको सदुपयोग सशक्त र सशस्त्र आन्दोलनबाट गर्न तयार रहेको चेतावनी दिएको छ ।
आईतबार संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । स्वेच्छिक अवकाश लिएका पूर्व जनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिनुपर्ने अथवा सो आर्थिक प्याकेज बराबर दिर्घकालीन व्यवस्थापन हुने गरि कुनै पनि क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने समितिको माग रहेको छ ।
बहिर्गमित जनमुक्ति सेनालाई लगाएको कथित अयोग्य विल्ला तुरुन्तै खारेजको साथै औपचारिक कार्यक्रम गरि सम्मानयुक्त शब्दसहित राज्यद्धारा सम्मानपत्र र परिचयपत्र वितरण गरिनुपर्ने पनि समितिले माग अघि सारेको छ ।
केन्द्रीय संघर्ष समितिका अध्यक्ष असिम लिम्वु ‘सुनिल’ले बहिर्गमित सेनाको नाममा मानवअधिकारकर्मी र केही अधिवक्ताहरुले डलरको खेती गरिरहेको आरोप समेत लगाए । उनले भने– ‘केही दिनअघि अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काईएका बहिर्गमित जनमुक्ति सेना नेपालका पूर्व अध्यक्ष लेनिन बिष्टलाई केही मानवअधिकारवादीहरुले बोकिरहनुभएको छ, त्यस्ता मानवअधिकारवादीलाई खोजीखोजी टाउकोमा हान्ने समय आएको छ, एकजना पूर्व माओवादी लडाकुलाई उचाल्ने काम गरिरहनुभएको छ, हामी ४ हजार ८ जनाको अधिकारको लागि नबोल्ने तर एकजना मानिसलाई निरन्तर बोक्ने ?शान्ति सम्झौताको हितविपरित उचाल्ने कामहुँदैछ, यो रोकिनुपर्छ ।’
उनले भने,‘यस्ता गलत क्रियाकलापहरु नरोकिने हो भने नेकपाका नेताहरुलाई अन्तर्राष्ट्रिय जगतमा समेत बद्नाम बनाउने काम हुने निश्चत छ ।’ त्यस्तै कार्यक्रममा बहिर्गमित जनमुक्ति सेना नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बसेल ‘करन’ले प्रेस विज्ञप्ति वाचनगर्दै स्वेच्छिक अवकाश लिएका पूर्व जनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिनुपर्ने, लगानीको वातावरण सिर्जना गर्नुपर्ने, अयोग्यताको बिल्ला तुरुन्तै खारेज गर्नुपर्ने, सम्माजनक प्रमाणपत्र प्रदान गनुर््पर्ने, स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता कुराहरुमा प्राथमिकता दिनुपर्ने, शान्तिपूर्ण आन्दोलनका क्रममा राज्यद्धारा विभिन्न बहानामा पक्राउ परेका सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाहरुको विना सर्त रिहाई गरिनुपर्ने लगायतकामागहरु पूरा नगरिए कडा आन्दोलनमाउत्रिने चेतावनी दिए ।