झलनाथ निकट नेताहरू नयाँ पार्टीमा जान हतार नगर्ने
काठमाडौं- जिल्लामा पूर्वप्रधानमन्त्री झलनाथ खनालनिकट मानिएका नेकपा (एमाले)का नेताहरूले केन्द्रीय तहमा दोस्रो तहका नेताले गरिरहेको एकता प्रयासको परिणाम पर्खिने निर्णय गरेका छन् । उनीहरूले यसअघि भएको १० बुँदे सहमति पालना र एकताको प्रयास सफल नभएमात्र अर्को बैठक बसेर थप योजना बनाउने भएका हुन् ।
सूर्योदय नगरपालिकामा शनिबार भएको भेलाले माधव नेपाल नेतृत्वमा गठन गर्न लागिएको नेकपा (एकीकृत समाजवादी)मा तत्काल समाहित हुनेभन्दा पनि एमालेमै रहन प्रयास गर्नेगरी अघि बढ्ने निर्णय गरेको हो । यो समूहका जिल्ला अध्यक्ष भक्त केसीले पार्टीलाई एकढिक्का राखेरै अघि बढ्नेगरी भेलाले निर्णय गरेको जानकारी दिए ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबीच केन्द्रीय तहमा भएको १० बुँदे सहमति अक्षरशः पालना हुनुपर्ने बताए । ‘हामी पार्टी नै विभाजन गरेर जाने पक्षमा छैनौं,’ उनले भने, ‘केन्द्रमा दोस्रो तहका नेताले गरिरहेको एकताको प्रयासलाई मध्यनजर गरेर आउँदो ९ गतेसम्म त्यसको परिमाण पर्खिनेछौं । १० बुँदे सहमति पालना हुन्छ कि हुँदैन भन्ने पनि पर्खिन्छौं ।’
भेलामा सहभागी नेताहरूले अध्यक्ष ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई संविधानविरोधी कार्य भन्दै आलोचना गरे । ओलीले पार्टीलाई सही बाटोमा हिँडाउन नसकेको भन्दै उनीहरूले पार्टी नेतृत्व सच्चिनुपर्ने बताए । भेलाले कोभिडका कारण निधन भएका व्यक्तिका परिवारको खानपान, शिक्षा, स्वास्थ्य, उपचारलगायत क्षेत्रमा सहयोग गर्न सरकारलाई आग्रह गर्नेसमेत निर्णय गरेको छ ।
भेलामा १ नम्बर प्रदेश सांसद खिनु लङवा लिम्बू, सूर्योदय नगरका मेयर रणबहादुर राई, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई, माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई र पूर्वसांसद मणिकुमार लिम्बूलगायतका नेता सहभागी थिए ।
जिल्लामा माधव नेपाल पक्ष भनिएका एमाले नेता–कार्यकर्ता पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नजिक छन् । यसअघि खनालले पार्टी पुनर्गठनको विकल्प नभएको बताएपनि जिल्लामा उनीनिकटका नेताले अहिल्यै खनालझैं निर्णय भने गरिसकेका छैनन् । पार्टी र नेतृत्व सच्चिए एमालेमै रहने उनीहरूले बताइरहेका छन् ।