रअ प्रमुख र ओलीको सहमति भन्दै हस्ताक्षर दुरूपयोग - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

रअ प्रमुख र ओलीको सहमति भन्दै हस्ताक्षर दुरूपयोग



काठमाडौं- भारतीय गुप्तचर संस्था रअका प्रमुख शामन्त कुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर देखिने एउटा पत्र सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ । कतिपय अनलाईनहरूले समेत यसलाई समाचारको रूपमा प्रकाशित गरेका छन् ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरेको भन्दै निन्दा गरेका छन् । उनले विदेश मामिला जस्तो संबेदनशिल बिषयमा गरिने यस्ता खेलवाड़प्रति सचेत हुन सबैमा आग्रह समेत गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘भारतीय ख़ुफ़िया एजेन्सिका प्रमुखसंगको संझौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाईनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ। बिदेश मामिला जस्तो संबेदनशिल बिषयमा गरिने यस्ता खेलवाड़प्रति सचेत हुन सबैमा आग्रह गर्दछु ।’

भारतीय गुप्तचर संस्था रअका प्रमुख र प्रधानमन्त्री ओलीबीच केहि बुँदामा सहमति भएको देखाइएको उक्त पत्रकै कारण अहिले प्रधानमन्त्री ओलीको आलोचना समेत भैरहेको छ ।

डिसेम्बर महिनामा प्रधानमन्त्री ओलीले रअ प्रमुखलाई बालुवाटारमै गोप्य रुपमा भेटेपछि यसबारे चर्को बहस र ओलीको आलोचना हुँदै आइरहेको थियो ।