अघिल्लो महाधिवेशनका हरुवाहरूलाई ओलीले बनाए मालामाल - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

अघिल्लो महाधिवेशनका हरुवाहरूलाई ओलीले बनाए मालामाल



काठमाडौं – एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिएको छ। यस्तै अध्यक्षमा केपी शर्मा ओलीले आफूलाई नै राखेका छन्। ओलीले आफ्ना निकट मानिएका दुई पोखरेललाई अवसर नै अवसर दिएका छन् ।

ओलीले दुई पोखरेल र नजिकका नेतालाई मात्रै स्थान दिएपछि एमालेमा थप असन्तुष्टि बढेको छ । यसअघि विष्णु पौडेललाई महासचिव बनाउने तयारी गरेका ओलीले एकाएक यसअघि हारेका शंकरलाई महासचिवमा ल्याएका छन् । त्यतिमात्र होइन ओलीले बनाएको लिस्टमा यसअघि हार्नेहरू धेरै छन् ।

विष्णु रिमाल, सुरेन्द्र पाण्डेलगायतका नेताहरू पनि यसअघिको महाधिवेशनमा हारेका नेता हुन् ।

प्रस्ताव अनुसार ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ छन्। त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई प्रस्ताव गरिएको छ। सातजना सचिवमा टोपबहादुर रायमाझी, छवीलाल विश्वकर्मा, लेखराज भट्ट, रघुविर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन्।

यस्तै ओलीले बन्दसत्रमा ३०१ केन्द्रीय सदस्यको नामावली पनि सार्वजनिक गरेका थिए। जसमा उनका विश्वास पात्र तथा मेडिकल व्यापारी दुर्गा प्रसाई अटाएनन्।

अनुमोदन भएका सबै पदाधिकारी र केन्द्रीय सदस्यले मनोनयन दर्ता गर्नुपर्ने छ।