न्युजिल्यान्डका निसमले भने : हामीलाई हारले कुनै फरक पार्दैन - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

न्युजिल्यान्डका निसमले भने : हामीलाई हारले कुनै फरक पार्दैन



एजेन्सी — अलराउन्डर जिम्मी निसमले पाकिस्तानविरुद्ध न्युजिल्यान्डले बेहोरेको हारले आफ्नो टिमलाई खासै फरक नपार्ने आत्मविश्वास पोखेका छन् । सन् २०१५ को उपविजेता न्युजिल्यान्ड बुधबार पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

त्यसमा विजयी भएको भए केन विलियम्सनको न्युजिल्यान्ड यसपालि विश्वकपको सेमिफाइनल पुग्ने दोस्रो टिम हुन्थ्यो । कुल १० टिमसम्मिलित प्रतियोगितामा अस्ट्रेलिया यसअघि नै अन्तिम चारमा पुगिसकेको छ ।

अहिलेसम्म विश्वकप जित्न असफल रहँदै आएको न्युजिल्यान्डको त्यस हारका बावजुद ११ अंकमा दोस्रो स्थानमा छ । टोली ढुक्कसँग रहन सक्छ । ‘विश्वकप जस्तो प्रतियोगितामा सबै खेल अपराजित रहने सोच्नु ठीक हुन्न,’ २८ वर्षीय निसमले भने, ‘प्रतियोगितामा निकै बलिया प्रतिद्वन्द्वी छन्, त्यसैले सबै खेल जित्ने अपेक्षा राख्नुहुन्न । एक वा दुई खेलमा पराजित रहनु अपेक्षित हुन्छ । सबैभन्दा महत्त्वपूर्ण तथ्य हाम्रो लक्ष्य सेमिफाइनल हो र हामी सहीबाटोमा छौं ।’

न्युजिल्यान्डले शनिबार लर्ड्समा हुने खेलमा अस्ट्रेलियाको सामना गर्नेछ । जुलाई ३ मा हुने उसको अन्तिम खेल आयोजक इंग्ल्यान्डविरुद्ध छ ।

अलराउन्डर कोलिन डी ग्रान्डहोमसँग मिलेर छैटौं विकेटमा १ सय ३२ रनको साझेदारी गरेका निसमले अविजित ९७ रन बनाए । ग्रान्डहोमले ६४ रनको योगदान दिए । निसमले ४६ रन बनाउँदासम्म ४ विकेट गुमाएको न्युजिल्यान्डले अन्त्यमा सम्माजनक स्कोर नै खडा गरेको पनि बताए ।