डिएसपीले 'तँ गद्दार' भन्दै वडाध्यक्षलाई नै कुटेपछि... - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

डिएसपीले ‘तँ गद्दार’ भन्दै वडाध्यक्षलाई नै कुटेपछि…



काठमाडौं- डिएसपीले नै अपशब्द प्रयोग गर्दै आफूमाथि हातपात गरेको एक वडाध्यक्षले आरोप लगाएका छन्।

दोलखाका डिएसपी मानबहादुर राईले आफूमाथि हातपात गरेको भन्दै दोलखाको भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंले विज्ञप्ति जारी गरेका हुन्।

वडाध्यक्ष चौलागाईंसहितको टोली हिजो बिहीबार दिउँसो साढे ४ बजे जिल्ला प्रहरी कार्यालय दोलखा पुगेको थियो। भीमेश्वर–४ कै बोलेरो चालक पवन बस्नेतको हत्याको अनुसन्धान कहाँ पुग्यो भनेर बुझ्न जाँदा आफूमाथि गालीगलौज गर्दै हातपात भएको वडाध्यक्षको आरोप छ।

वडाध्यक्ष चौलागाईंले भने, ‘हामी जिल्ला प्रहरी कार्यालय दोलखा पुग्दा डिएसपी राई कार्यकक्षमा थिएनन्। हामीले मुद्दाका सई बस्नेत हत्याको अनुसन्धान बारेमा जानकारी लिँदै थियौं। त्यसबेलै डिएसपी सा’प आएर अनुसन्धानमा प्रभाव पार्ने भन्दै गालीगलौज गर्नुभयो।’

गालीगलौजसँगै आफूमाथि हातपात समेत भएको भन्दै वडाध्यक्षले विज्ञप्तिसमेत निकालेका छन्।

‘अनुसन्धानलाई प्रभाव पार्न आउने तँ को होस्?, तँ गद्दारलाई भाटा हान्छु। घोक्र्याएर बाहिर निकालिदे। तँ गद्दारले कसरी चुनाव जितेको छस् सबै थाहा छ’ भन्दै कुर्सीमा बसिरहेको बेला मलाई हातपात गर्दै निकालियो,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त घटनाबारे स्वतन्त्र छानबिन गर्न भन्दै उनले मानव अधिकारकर्मीसँग समेत माग गरेका छन्। तर यसबारे दोलखाका डिएसपी राईले वडाध्यक्षले लगाएको आरोपमा सत्यता नभएको दाबी गरे। उनले नेपाल लाइभसँग भने, ‘अब उहाँले कुन आवेशमा आएर यस्तो आरोप लगाउनुभयो थाहा भएन। त्यस्तो कुरो केही भएको छैन।’

अनुसन्धानका विषयमा वडाध्यक्षले चासो राखेपछि आफूले सोही अनुसार जवाफ दिएको डिएसपी राईले दाबी गरे। गालीगलौज र हातपातमा आफू उत्रनुपर्ने कुनै कारण नै नभएको उनको भनाइ छ। यस विषयमा शुक्रबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालयमा छलफल हुने बताइएको छ।

छलफलमा डिएसपी राईले माफी नमागे आफू कानुनी कदम चाल्न बाध्य हुने वडाध्यक्ष चौलागाईंले बताए।

तस्बिर : नेपाल लाइभ