यसअघि हारेका हरिकृष्णलाई एमालेले दियो मेयरको टिकट - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

यसअघि हारेका हरिकृष्णलाई एमालेले दियो मेयरको टिकट



नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा यसअघि हारेकै हरिकृष्ण व्यञ्जनकार उम्मेदवार बन्ने भएका छन् । एमालेले उनलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो ।

शनिबार बसेको नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसमत रूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए । उनका अनुसार नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २ जनाको दाबी छ ।

व्यञ्जनकारका अनुसार पार्टी महानगर कमिटिको अध्यक्ष आस्था शाक्य ‘मञ्जली’ र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दाबी प्रस्तुत गरेका छन् ।

उनले भने, ‘यो दाबीलाई महानगर कमिटी हुँदै केन्द्रीय कमिटिमा सिफारिस गरिनेछ । त्यसपछि मात्रै उपमेयरको उम्मेदवारी तय हुनेछ ।’

व्यन्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह इन्चार्ज समेत हुन् । गत २०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार काङ्ग्रेसका चिरीबाबु महर्जनसँग झिनो मतान्तरले पराजित भएका थिए ।

यस्तो थियो २०७४ मा ललितपुर महानगरको मत परिणामः

चिरिबाबु महर्जन/नेपाली कांग्रेस– २४,६४२
हरिकृष्ण व्यञ्जनकार/नेकपा एमाले २४,३१६
रमेश महर्जन/ साझा पार्टी– १३,४५८
दिनेश महर्जन/माओवादी केन्द्र– १०,६६१