हार्दिक पटेल भारतीय कांग्रेसमा प्रवेश : मोदीलाई तनाव - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हार्दिक पटेल भारतीय कांग्रेसमा प्रवेश : मोदीलाई तनाव



गुजरात: भारतमा अप्रिल ११ देखि लोकसभा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले सात चरणमा लोकसभा निर्वाचनको घोषणा गरेसँगै भारतभर निर्वाचनको माहोल सिर्जना भएको छ।

यसैबीच गुजरातमा पाटीदार आन्दोलनको नेतृत्व गर्दै केन्द्रमा रहेको भारतीय जनता पार्टिलाई टक्कर दिएका हार्दिक पटेल भारतीय कांग्रेसमा प्रवेश गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कटु आलोचकका रुपमा परिचित पटेल आज भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको उपस्थितिमा कांग्रेस प्रवेश गरेका हुन्।

कांग्रेस प्रवेश कार्यक्रममा महात्मा गान्धीले आजैको दिनदेखि ब्रिटिस साम्राज्यलाई भगाउन डन्डी मार्च सुरु गरेको बताउँदै पटेलले पनि आफू आजैबाट कांग्रेस प्रवेश गरेको बताए।

आइतवार जामनानगरबाट लोकसभा निर्वाचन लड्ने घोषणा गरेका उनले कांग्रेस प्रवेश पछि कहाँबाट निर्वाचनमा प्रतिस्पर्धा गर्छन् भन्नेबारे यकिन भएको छैन।

गुजरात र भारतभर रहेको पटेलहरुलाई आरक्षण माग गर्दै आन्दोलनमा होमिएका हार्दिकलाई पटेल समुदायको विशेष साथ रहेको छ। उनको कांग्रेस प्रवेशसँगै तीनपटक गुजरातको मुख्यमन्त्री बनेका वर्तमान प्रधानमन्त्री मोदीमाथि चुनौती थपिएको भारतीय संचार माध्यमहरुले बताएका छन्।

२५ वर्षे पटेलले भारतमा उच्च श्रेणीमा रहेको मानिएका पटेलहरुमा पनि धेरै पिछडिएको भन्दै आरक्षण माग गरेका थिए। २०१५ बाट सुरु भएको उनको आन्दोलनका क्रममा गुजरात केही दिनसम्म ठप्प रहन गएको थियो। यस्तै उनलाई प्रहरीले कयौंपटक नियन्त्रणमा लिएको थियो।

२०१७ मा भएको गुजरात विधानसभा निर्वाचनमा उनले कांग्रेसलाई समर्थन गरेका थिए। सो निर्वाचनमा १८२ सिटमा कांग्रेसले ८१ सिटमा विजयी हासिल गरेको थियो। भारतीय जनता पार्टीले भने ९९ सिट हासिल गरेको थियो।

गुजरातमा लोकसभाका लागि २६ सिटमा निर्वाचन हुनेछ। २०१४ मा भएको निर्वाचनमा सबै सिटमा भाजपा विजयी भएको थियो। तर हार्दिकको कांग्रेस प्रवेश र विधान सभा निर्वाचनको मत परिणामले भाजपालाई सोही जित हासिल गर्न गाह्रो हुने अनुमान गरिएको छ।

यता, गुजरातका मुख्य मन्त्री विजय रुपनीले पाटिदार आन्दोलनका नेता कंग्रेस प्रवेश गर्नुलाई लोकसभा निर्वाचनलाई प्रभावित पार्ने ‘डिजाइन’ रहेको बताएका छन्।

यसैबीच महाराष्ट्र विधान सभाका विपक्षी नेता राधाकृष्णन विखे पाटीलका छोरा सुरज विखे पाटील भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्। कांग्रेसका दिग्गज नेताका रुपमा परिचित राधाकृष्णनका छोराले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसको उपस्थितिमा भाजपामा प्रवेश गरेका हुन्। उनले आफ्नो बुबाले विरोध गरेपनि भाजपा प्रवेश गरेको बताउँदै आफ्ना आमा बुबाले आफ्नो निर्णयलाई जसरी लिएपनि आफू भाजपाको निर्देशनमा काम गर्ने बताए।