सोनिया गान्धीले हार्दिक पटेललाई दिईन गुजरात कांग्रेसको नेतृत्व
एजेन्सी- भारतको पछिल्लो राजनीति तताएका एक युवाले राजनीतिमा छलाङ मारेका छ । भारतको गुजरात राज्यमा पटेल समुदायको आन्दोलनबाट उदाएका हार्दिक पटेलले राजनीतिक छलाङ मारेका हुन् ।
हार्दिक पटेललाई २६ वर्षकै उमेरमा सोनिया गान्धीले भारतको कांग्रेस आई गुजरात युनिटको अध्यक्ष नियुक्त गरेकी छन् ।
पटिदार समुदायको अधिकारका लागि चलेको आन्दोलनबाट हार्दिक पटेल कलिलो उमेरमै लोकप्रीयताको शिखरमा पुगेका थिए । सन् २०१५ मा पटिदार आन्दोलनका क्रममा पक्राउ परेपछि हार्दिक पटेलको अलग पहिचान बनेको थियो । उनी सन् २०१९ मा कांग्रेस आईमा आवद्ध भएका थिए ।
कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले हार्दिक पटेललाई गुजरात युनिटको नेतृत्व जिम्मा दिनुलाई महत्वका साथ हेरिएको छ । भारतीय सञ्चारमाध्यमले यो खबरलाई प्राथमिकताका साथ प्रसारण र प्रकाशन गरेका छन् ।
गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य हो । भारतका गृहमन्त्री अमित शाह पनि गुजरातकै हुन् । हार्दिक पटेललाई गुजरात युनिटको जिम्मा दिएर कांग्रेस आईले भाजपालाई मोदीको गृहराज्यमै चुनौती दिने रणनीति चालेको कतिपयको बुझाई छ ।
तर, हार्दिक पटेलले कांग्रेस आईमा महत्वपूर्ण जिम्मेवारी पाएर राजनीतिक छलाङ मारेका छन् । यसले उनलाई भविष्यमा उच्च पदसम्म पुर्याउनसक्ने मार्ग समेत खोलिदिएको छ ।