हराएको खोपबारे यसो भन्छन् स्वास्थ्यमन्त्री खतिवडा - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

हराएको खोपबारे यसो भन्छन् स्वास्थ्यमन्त्री खतिवडा



काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड-१९ विरुद्ध खोप हराएको वा लुकाएको भन्ने प्रचार गलत रहेको बताएका छन्। मन्त्री खतिवडाले सञ्चारकर्मीसँग कुरा गर्दै कोभिड-१९ विरुद्धको खोप कुन–कुन देशबाट कति परिमाणमा आयो भन्ने तथ्यांक मन्त्रालयमा रहेको उल्लेख गरे।

भने, “कुन प्रदेश र कुन जिल्लामा कति वितरण भयो भन्ने डाटा पनि हामीसँग छ, केन्द्रमा लगाएको तथ्यांक हामीसँग छ। अहिले गाउँ-गाउँमा खोप पुर्‍याइएको छ। त्यसको सबै तथ्यांक भने आइसकेको छैन।” उनले गाउँ–गाउँमा दिइएको खोप दिने टोलीबाट विवरण संकलन भइरहेको बताउँदै वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रमा तथ्यांक आउने प्रस्ट पारे। मन्त्री खतिवडाका अनुसार खोप लगाउन आउनेको सङ्ख्या तलमाथि हुँदा पनि यकिन तथ्यांक नआएको बताए।

भने, “खोप हराएको वा लुकाएको होइन। एउटा प्याकेटमा १० ओटा हुन्छ। कतै सात जना, कतै आठ जनाले लगाउँछन्। दुई-तीन ओटा नलगाई स्टोर गर्नुपर्ने हुन्छ। खोपको प्याकेट खोलेपछि निश्चित समयभित्र लगाइसक्नुपर्ने हुन्छ।”

कतिपय स्थानमा प्रमाणपत्रबिना बुस्टर खोप लगाएका कारण तथ्यांक तलमाथि भएको हुन सक्ने उनले बताए। भने, “खोप लगाएपछि प्रमाणपत्र दिइन्छ तर कतिपयले कार्ड नदिई पनि खोप लगाएको पाइएको छ। मानवीय पक्षलाई ध्यान दिनैपर्छ। यसो गर्दा पनि रेकर्ड तलमाथि हुन्छ।”