हाम्रो पहिचान नेपाली टोपी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हाम्रो पहिचान नेपाली टोपी



कर्ण अधिकारी।

“नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान” भन्ने नारा सहित सन २०१४ को जनवरी १ तारीक अर्थात् पौष १७ गतेका दिन देखि मनाउन सुरु गरिएको टोपी दिवसले ५ औँ वर्ष पुरा गरी छैटौँ वर्षमा प्रवेश गर्दै छ।टोपी दिवस प्रति आम नेपाली जनताको झुकाव रहनुले पनि हामी सगर्बका साथ भन्न सक्छौ नेपाली जनता आफ्नो राष्ट्रिय पोसाक प्रति मन बचन र कर्मले लागि पर्छन्।

हामीलाई हाम्रो पहिचान विश्व सामु चिनाउने राष्ट्रिय पोसाक मध्येका नेपाली टोपी पनि एक हो।टोपीका विभिन्न प्रकार भए पनि प्रचलितमा आएका टोपीहरू भाद गाउँले टोपी,पूर्वेली टोपी र पाल्पाली ढाका टोपी नै हुन।

आज नेपाली बजारमा नेपाली राष्ट्रिय पोसाक माथि विदेशी पोसाकको हाबी रहनु दुर्भाग्य पूर्ण कुरा हो।आफूलाई माहान ठान्ने बिषेशत नेपालको बागडोर सम्हाल्नेहरूले नै एक पटक राष्ट्रिय पोसाक हटाएको थियो।सरकारले चासो नदिए पनि नेपाली जनता स्वस्फूर्त रूपमा राष्ट्रिय पोसाक जोगाउन लागी परी रहेका छन्।

हिजोका दिनमा २/४ जना मान्छेले सुरुवात गरेको नेपाली टोपी दिवस आज करोडौँ नेपालीले चाहे स्वदेशमा होस चाहे विदेशमा कार्यरत नै किन नहोस् सबैले आ-आफ्नो तह र तप्काबाट मनाउन सुरु गरी सकेका छन्।नेपालको विभिन्न भागमा र्‍याली नै गरेर टोपी दिवस मनाउन थाली सकेका छन् तर आफूलाई महान् ठान्ने नेपालका नेताहरू भने संसद् भवन छिर्दा समेत विदेशी पोसाकमा सजिएर संसद् भवन प्रवेश गर्छन्।आज ती नेताहरूलाई दौरा सुरुवाल,टोपी लगाएर छिर्दा नराम्रो लाग्छ रे।त्यसै मध्येका एक हुन डा. बाबुराम भट्टराई र कमरेड प्रचण्ड।

विश्व सामु नेपाल र नेपाली हो भन्ने पहिचान विश्व मान चित्र,धर्म,संस्कार,रीतिरीवाज साथै राष्ट्रिय पोसाकले चिनाउने गर्दछ।तसर्थ हामीहरूले पनि हाम्रो पहिचान जोगाउनका लागि धर्म,संस्कार,रीति रिवाज र पोसाकलाई निरन्तरता दिन जरुरी छ।

आजका दिन सम्म आई पुग्दा नेपालका केही डलरवादी नेताहरूले विश्वका एक मात्र सनातन हिन्दु राष्ट्र नेपाललाई पश्चिमाहरूको लहै लहमा लागेर धर्म निरपेक्ष राष्ट्र बनाई दिए।जसको परिणाम आज कृष्चियन धर्म प्रचारकहरूले दिन दुई गुणा र रात चार गुणाको दरले विभिन्न प्रलोभनमा पारेर हिन्दु,बौद्ध,किराँत,जैन र मुस्लिम धर्मावलम्बीहरूलाई आफ्नो बसमा पार्दै धर्म परिवर्तन गराई रहेका छन्।यस्तो हुनु नेपाल र नेपालीको लागि दुखद कुरा हो।हामीले हाम्रो धर्म संस्कार र रीतिरीवाज नै भुल्दै जाने हो भने हाम्रो भावी पुस्तालाई हाम्रो पहिचानका बारे देखाउने कुरा कुनै पनि रहने छैन तसर्थ आजैबाट धर्म,संस्कार,रीति रिवाज,राष्ट्रिय पोसाक जोगाउनका लागि तत्परता देखाऔँ।टोपी दिवसको सबैमा हार्दिक शुभकामना….