दैनिक संक्रमण हालसम्मकै उच्च, डब्लुएचओको कडा चेतावनी - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

दैनिक संक्रमण हालसम्मकै उच्च, डब्लुएचओको कडा चेतावनी



काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसका १ लाख ६ हजारभन्दा बढी संक्रमित थपिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो महामारीबाट चाँडै छुटकारा नमिल्ने बताएको छ। एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो।

पछिल्ला दिनयता दैनिक ९० हजारको हाराहारीमा संक्रमित थपिएकामा बुधबार यो संख्या एक लाख पुगेको थियो। बिहीबार भने संक्रमण थपको मामलामा रेकर्ड नै बनेको छ।

२४ घण्टामा १ लाख ६ हजार ९० जना नयाँ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या ५१ लाख ८९ हजार ५०१ पुगेको छ।

बिहीबार सबैभन्दा बढी अमेरिकामा २८ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् र कुल संख्या १६ लाख २० हजार ७८० पुगेको छ।

रुसमा नयाँ संक्रमित ८ हजार ८४९ थपिएर ३ लाख १७ हजार ५५४ जना पुगेका छन्।

ब्राजिलमा नयाँ संक्रमित १६ हजार ७३० सहित कुल संख्या ३ लाख १० हजार ८७ जना पुगेका छन्।

बेलायतमा २ हजार ६१५, भारतमा ६ हजार १९८, चिलीमा ३ हजार ९६४, साउदी अरेबियामा २ हजार ५३२, पाकिस्तानमा २ हजार १९३ र बंगलादेशमा १ हजार ७७३ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन्।

यसअघि डब्लुएचओका एक निर्देशकले धनी मुलुक लकडाउनबाट उम्किँदै गरेको तर गरिब मुलुकमा कोरोनाले पाउ फैलाइरहेको बताएका थिए।