रियल म्याड्रिडले रोनाल्डोको विकल्प भट्टायो ! - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

रियल म्याड्रिडले रोनाल्डोको विकल्प भट्टायो !



म्याड्रिड- स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि स्पेनिस क्लब रियल म्याड्रिडले उनको विकल्प खोज्न थालेको छ।

रियलका लागि चार युरोपियन च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जिताएका ३४ वर्षीय रोनाल्डो दुई दिनअघिमात्र इटालियन लिग च्याम्पियन युभेन्ट्स स्थानान्तरण भएका थिए।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार रियलले रोनाल्डोको विकल्पका रुपमा चेल्सीका इडेन हाजार्डलाई हेरेको छ। हाजार्डलाई क्लब भित्र्याउन चेल्सीसँग रियलले कुराकानी अगाडि बढाएको जनाएको छ।

बेल्जियमका स्टार खेलाडी हाजार्डले केही समयअघि आफ्नो सपना रियलका लागि खेल्नु रहेको बताएका थिए। हाजार्डकै बलियो प्रदर्शनमा बेल्जियम जारी विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो।

रोनाल्डोलाई एक सय मिलियन पाउन्डमा बेचेको रियलले हाजार्डका लागि एक सय ५० मिलियन पाउन्ड स्थानान्तरण मुल्य खर्च गर्ने तयारी गरेको छ। बेल्जियमका कप्तान समेत रहेका हाजार्डसँग चेल्सीको अनुबन्धन अझै दुई वर्ष बाँकी छ।

चेल्सीले हप्ताको तीन लाख पाउन्ड दिने नयाँ प्रस्ताव हाजार्डले अस्विकार गरेका थिए। उनले चेल्सीलाई नयाँ सम्झौताका लागि तयार हुन चुनौती दिएका थिए। हाजार्ड सन् २०१२ यता चेल्सीमा छन्। उनले चेल्सीका लागि तीन सय खेलमा ८९ गोल गरेका छन्।

युरोपियन च्याम्पियन्स लिगका पछिल्ला तीन संस्करण जितेको रियल रोनाल्डो बाहिरिएपछि संकटमा परेको छ। रियलले सन् २००९ मा रोनाल्डोलाई  इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट भित्र्याएको थियो। त्यसयता रोनाल्डो चार पटक फिफा वर्ष खेलाडी पनि भएका थिए।  रोनाल्डोको राष्ट्रिय टोली पोर्चुगल जारी विश्वकपको प्रिक्वाटरफाइनलबाट बाहिरिएको थियो।