अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव जापानमा हुने - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव जापानमा हुने



हिमाल पोस्ट /जापान 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) जापान च्याप्टर र नेपाल हाइकु केन्द्रको संयुक्त  आयोजनामा जापानमा अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव २०१८ को आयोजना हुने भएको छ । बि.स. २०६२ सालमा पहिलो पटक नेपालमा भएको हाइकु महोत्सवको दोस्रो संस्करण अनेसास सँग मिलेर यस पटक हाइकुको उदगम थलोमा गर्ने निधो भएको कुरा नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले  बताएका छन् ।

महोत्सवमा जापानका केही चर्चित हाइकु कविहरूले पनि दरिलो सहभागिता जनाउने भएका छन् । सम्मेलनमा भाग लिनको निम्ति युरोप, अमेरिका, नेपाल लगायतका क्षेत्रमा नेपाली हाइकु लेखनमा सक्रिय कविहरूको उपस्थित हुने जनाइएको छ । कार्यक्रम यही सेप्टेम्बर ३० तरिका आइतबार टोकियो स्थित सिन-ओकुबोमा रहेको नेपाली मुरा हलमा हुने र कार्यक्रमको सम्पूर्ण आन्तरिक तयारी भइसकेको जनाइएको छ ।

‘कायक्रमको सम्पूर्ण आन्तरिक तयारी भइसकेको छ । नेपालसहित विश्वभरिका हाइकु लेखकलाई हामीले निम्त्याइसकेका छौँ ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) का वरिष्ठ उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक प्रकाश पौडेल ‘माइला’ले भने, ‘हाइकुको उदगमस्थल भएकोले पनि यसपटकको सम्मेलन जापानमा गर्ने योजना बनेको हो । नेपाली हाइकु कवि र जापानी हाइकु कविको बिचमा घनिभुत समबन्ध स्थापना गरी हाइकुको माध्यमबाट नेपालमा साहित्यिक पर्यटक भित्र्याउने उदेस्यले पनि कार्यक्रमको आयोजना गर्न लागिएको हो ।’

१३ वर्षदेखि जापानलाई कर्मभूमि बनाएका माइला नेपाली हाइकुका विकासकर्ता एवम् खोजकर्ता मानिन्छन् । पौडेलको नेतृत्वमा नेपाली हाइकु म्यागेजिन तथा अनलाइन सामग्री नियमित प्रकाशन हुँदै आएको छ । हालै मात्र उनले रामकुमार पाँडे सँग मिलेर ‘हजार हाइकु’ बजारमा ल्याएका थिए । साहित्यकार शङ्कर लामिछानेले बि. स. २०१९ सालमा जापानबाट नेपालमा हाइकु भित्र्याएका हुन । हाल नेपालमा हाइकु लेखिने र लोकप्रियता चुलिने क्रम तीव्र भएको छ ।

‘अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव २०१८ जापानमा आयोजना हुनुलाई नेपाल र जापान बिचमा अब साहित्यको माध्यमबाट नयाँ सम्बन्ध विकसित हुने आकलन गर्न सक्छौ ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठकले भने, ‘यसबाट नेपाली साहित्यलाई अन्तराट्रीयकरण गर्न निकै सहजता हुन्छ ।

कार्यक्रम सफल पार्नको लागि प्रकाश माइला संयोजक र दीप पाठक सह-संयोजक रहेको मूल आयोजक समिति गठन गरिएको छ भने सल्लाहकारहरू चयन गर्नुको साथै विभिन्न उप-समितिहरू पनि गठन गरिएका छन् ।