कपिलवस्तुमा हैजा फैलिएको पुष्टि, ४ को मृत्यु, ९ सय जनामा संक्रमण - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

कपिलवस्तुमा हैजा फैलिएको पुष्टि, ४ को मृत्यु, ९ सय जनामा संक्रमण



काठमाडौं- कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला हैजा भएको पुष्टि भएको छ । असोज तेस्रो साताबाट कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ७, ८ र ९ मा झाडापखाला र बान्ता हुने समस्या देखिएको हो।

यसबाट अहिलेसम्म चार जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जनाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार, झाडापखाला र बान्ता भएर ४५ वर्षीय युवकको घरमै र सात वर्षीय बालकको निजी क्लिनिकमा उपचारका क्रममा ज्यान गएको हो। त्यस्तै, पाँच वर्षीया बालिका र दुई वर्षीय बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिलेसम्म आठ सय ८५ जनामा झाडापखाला र बान्ताको समस्या देखिएको छ। उनीहरूमध्ये आठ सय १९ जना निको भएर घर फर्किसकेका छन्। अझै २५ जनाको शिवराज अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, झाडापखाला तथा बान्ताको समस्या देखिएका बिरामीको दिसाको नमूना परीक्षण गर्दा हैजाका जीवाणु भेटिएका छन्। लुम्बिनी अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ५५, ७२ र ५५ वर्षीय पुरुष तथा पाँच वर्षीया बालिकाको दिसाको नमूना परीक्षण गर्दा ‘भिब्रिओ कोलेरा ०१ ओगावा’ देखिएको छ। यो हैजाको जीवाणु हो।

त्यस्तै, कृष्णनगर क्षेत्रबाट सङ्कलन गरिएका पानीका १५ नमुनामध्ये ९ वटामा ‘ईकोली’ जीवाणु देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो जीवाणुले बान्ता गराउँछ।

त्यस क्षेत्रमा झाडापखाला र बान्ता नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। झाडापखालाका कारण जलवियोजन भई ज्यान जानसक्ने भएकाले जीवनजल पिउन मन्त्रालयले आग्रह गरेको छ।