परराष्ट्रमन्त्रीको राजीनामा माग्दै आन्दोलन
काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै युवाहरूले प्रदर्शन गरेका छन् । सुर्खेतमा शनिबार राष्ट्रिय एकता अभियानका नाममा उक्त प्रदर्शन भएको हो ।
हुम्लामा चीनले सीमा मिचेको भन्ने विषयमा सरकारको तर्फबाट परारष्ट्रमन्त्री ज्ञवालीले दिएको प्रष्टीकरण आपत्तिजन रहेको राजीनामा मागेर प्रदर्शन गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रदर्शनमा सहभागीले सीमा अतिक्रमण बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली भूमिबाट चिनियाँ फिर्ता जाऊ, सोझो नेपालीसँग छलछाम बन्द गर लगायतका नारा लगाएका थिए ।
उनीहरुले ‘गो ब्याक चाइना’, नेपाल आमाको जय, राष्ट्रिय एकता अभियान जिन्दावाद भन्ने नारा लगाएको स्थानीयले बताएका छन् ।
![](https://himalpost.com/wp-content/uploads/2020/09/aandlan-768x512.jpg)
प्रदर्शनमा उत्रिएका मध्ये २ जना पक्राउ परेका छन् । शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रदर्शनकारीमाथी दमन गरिएको सहभागीले बताएका छन् ।
उनीहरूले पक्राउ गरेकाहरूलाई तत्काल नछाडे आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
हुम्लाको मान्खा गाउँपालिकामा चीनले नेपाली भूमि मिचेर आधुनिक भवनहरू बनाएको भन्ने समाचार आएपछि बुधबार मन्त्री ज्ञवालीले चीनले आफ्नै भूमिमा संरचनाहरु बनाएको र नेपाली भूमि नमिचेको बताएका थिए ।
लगत्तै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी समाचारको खण्डन गरेको थियो ।