सक्रिय बन्ने संकेत गर्दै पूर्वराजाले भने: छातीमा राखेर समीक्षा गर्ने बेला आयो
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले सबैले मातृभूमीको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।
शुभकामाना सन्देशमा उनले प्रजातन्त्र भनेको केवल आवधिक निर्वाचन र नेताहरुको शासन प्रणाली मात्र नभइ सामाजिक जीवनपद्धति भएको बताएका छन्। अब सबैले मातृभूमीको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ।
‘प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन, यो सामाजिक जीवनपद्धति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्र अटुट रहन्छ। यसमा राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौँ? सबैले मातृभूमीको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ,’ पूर्वराजा शाहले शुभकामना सन्देशमा भनेका छन्।
पार्टीगत र स्वार्थगत निषेध र विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गएको भन्दै शाहले नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने जनाएका छन् ।
उनले भनेका छन्, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपाली जनताले गरिरहेका छन्।’
नेपालमा प्रजातान्त्रिक विधि अघि बढोस् भन्ने सबैको चाहना भएपनि प्रजातन्त्र स्थापनाको ७० वर्षपछि पनि प्रजातन्त्रकै विवाद र द्वन्द्व भइरहेको पूर्वराजा शाहको टिप्पणी छ।
शाहले भनेका छन्, ‘प्रजातन्त्र प्राप्तिको सत्तरी वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त छौँ, ग्रस्त छौँ । प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो। जनताको आस्था, चाहना र जनभावना अन्तत अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न।