ज्याला नदिएपछि ज्ञानेन्द्र शाहको चिया बगानका मजदुर आन्दोलनमा उत्रिए
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बगानमा श्रमिक आल्दोलित भएका छन् । ज्याला नदिने र अन्य सुविधासमेत नदिएको भन्दै श्रमिकहरू आन्दोलित भएको बताइएको छ । झापाको दमकस्थित हिमालय–महालक्ष्मी चियाबगानका श्रमिक आन्दोलित भएका हुन् ।
बगानमा कार्यरत चिया मजदुरहरू मंगलबारदेखि आन्दोलन गरेका छन् । उनीहरूले काम नै छाडेर आन्दोलन गरेको बताइएको छ । समयमा ज्याला नदिने र अन्य सुविधासमेत नदिएको भन्दै मजदुरहरू काम नै छाडेर आन्दोलनमा उत्रिएका हुन् ।
मजदुरहरूले कोरोना महामारीको संकटको वेला पनि काम गरिरहेको तर समयमा ज्याला र सुबिधा नदिएको आरोप लगाएका छन् । यसअघि पनि उक्त बगानका मजदुरहरूले आवाज उठाउँदै आएका थिए ।
महिनाभरी काम गर्दापनि १२ दिनको मात्र तलब दिने गरिएको त्यो पनि समयमा दिन आनाकानी गरिएको बताउंदै उनीहरू आन्दोलित छन् । निरन्तर काम गर्दा पनि समयमा ज्याला नपाएकाले सहन नसकेर आन्दोलनमा उत्रनुपरेको मजदुरहरूले बताएका छन् ।
त्यतिमात्र होइन उक्त बगानले कामदारको ६ वर्षदेखि सञ्चय कोषको रकम जम्मा गरेको छैन । मजदुरको ज्यालाबाट १० प्रतिशत कटाए पनि अहिलेसम्म रकम जम्मा नगरेको उनीहरूको गुनासो छ । सञ्चय कोषबापतको करोडौँ रकम जम्मा गर्न समेत मजदुरले माग गरेका छन् ।