पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा राष्ट्रिय एकताको सन्देश
नेपालगंज । पूर्वराजा ज्ञानेन्द्रले आज अर्थात् असार २३ गते आफ्नो ७२ औ जन्मोत्सव मनाउँदै छन् । आफ्नो जन्मोत्सव मनाउनका लागि स–परिवारसहित नेपालगञ्जमा आएका छन् । बुधबार बेलुका पूर्वरानी कोमल राज्यलक्ष्मी शाह, बुहारी पूर्वयुवराज्ञी हिमानी साहस र नातिनातिनासहित पूर्वराजा ज्ञानेन्द्र नेपालगञ्ज जन्मोत्सव मनाउना आइपुगेका थिए ।
विभिन्न जिल्लामा राजतन्त्र स्थापनाको अभियानको नेतृत्वसहित पूर्वयुवराज पारस शाह पनि नेपालगञ्ज आइपुगिसकेका छन् । पूर्वराजा परिवार सबै सोल्टी होटेलमा बसेका छन् ।
राजपरिवार र त्यसको अभियानमा लागेका गेरुबस्त्रधारी प्रभञ्जन सिंहलगायतका धार्मिक गुरुहरू पनि नेपालगञ्ज पुगेका छन् । पूर्वराजाको जन्मोत्सवमा सहभागी हुन भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउन सक्ने बताएका छन् । पूर्वराजाले योगी आदित्यनाथलाई पनि निम्तो पठाएका थिए ।
‘यो जन्मोत्सव मात्र नभएर राष्ट्रिय एकताको सन्देश दिने अभियान पनि हो । राष्ट्रहित, हिन्दु धर्मको रक्षाका लागि विभिन्न जिल्लाको दौड सकेर नेपालगञ्ज आइपुगेका छौँ’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले भने,‘यसबीच हामीले कर्म्निष्ठ पुःतकको पनि प्रचार गरेका छौँ । नागरिकको हातमा बाँडेका छौँ ।’
राप्रपाका अध्यक्ष कमल थापाले पनि पूर्वराजालाई जन्मदिनको शुभकामना दिएका छन् । उनले पूर्वराजालाई ट्वटर मार्फत शुभकामना दिँदै लेख्छन् -‘नेपालमा राजा र जनताको परस्पर विश्वास र सम्मान अविच्छिन्न र अटल छ। यो सम्बन्ध सम्बिधानले परिभाषित वा विखण्डित गर्न सक्दैन। राजनीतिक उतारचढावका बाबजुद अहिले पनि राजसंस्थाप्रति जनताको अपार स्नेह र आस्था रहेको छ। ७२औं शुभजन्मोत्सवको अवसरमा सुख,शान्ति र सुस्वास्थ्यको मंगलमय शुभकामना । ‘