गुट–उपगुटमा विभाजित हुदाँ कांग्रेस कमजोर बन्यो
पोखरा। नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नेता सत्तामुखी र कार्यकर्ता नेतामुखी हुने प्रबृत्ति अन्त्य गर्नेखालको विधान बनाउन नेतृत्व तहलाई सुझाव दिएका छन् ।
नेपाली कांग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिले पोखरामा आइतबार आयोजना गरेको सुझाव संकलन कार्यक्रमका सहभागीहरुले नेता तथा कार्यकर्ता गुट–उपगुटमा विभाजित बन्दा पार्टी कमजोर भएको जनाउँदै नेतालाई कार्यकर्तामुखी र कार्यकर्तालाई जनतामुखी बन्न सुझाव दिएका हुन् ।
सहभागीहरुले कांग्रेसको आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादतर्फ शीर्ष नेताहरु केन्द्रीत हुनुपर्ने खाँचो औंल्याउँदै नेताहरुमा एकता आवश्यक रहेको बताए । बिपीले बनाएको राजनीतिक दस्तावेजलाई कार्यान्वन गर्न नसक्नु नै पार्टी कमजोर हुनुको मुख्य कारण रहेको उनीहरुको भनाइ छ ।
जनताले एकताबद्ध र संगठित कांग्रेसको अपेक्षा गरेको हुँदा पार्टीको आन्तरिक संगठन मजबुत बनाएर अगाडी बढ्नुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् ।
कार्यक्रमा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उप्रधानमन्त्री गोपालमान श्रेष्ठले पार्टीको नीतिमा नेता र कार्यकर्ता बाँधिएमात्रै पार्टी बलियो हुने बताए । उनले पार्टीमा व्यक्तिभन्दा नीतिनै महत्वपूर्ण हुने हुँदा सोही अनुसारको सुझाव दिन कार्यकर्तालाई आग्रह गरे ।
उनले पार्टी गुट–उपगुटमा विभाजित बन्दा कमजोर भएको बताए ।
वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको उल्लेख गर्दै श्रेष्ठले जथाभावी कर वृद्धि र महङ्गीको मारमा जनता पिल्सिएको बताए ।
कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापाले कांग्रेसलाई सशक्त बनाउँदै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्नुपर्ने बताए ।
केन्द्रीय सदस्य महेन्द्र यादवले तोकिएकै समयमा महासमिति बैठक हुने दावी गरे । उनले भने, ‘बिपीले देखाएको बाटोलाई अंगिकार नगर्दा कांग्रेसको अहिलेको अवस्था आएको हो ।’
कार्यक्रममा राष्ट्रिय सभा सदस्य बृन्दा रानामगर, गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, कांग्रेस नेता शुक्रराज शर्मा, कांग्रेस कास्की सभापति कृष्ण केसी, सचिव देवेन्द्र रानाभाट लगायतले पार्टी सामुहिक पद्दतिमा चल्नुपर्ने बताएका थिए ।रासस