पृथ्वीसुब्बा गुरुङ भन्छन्: सत्ता गठबन्धन टुट्दै छ - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

पृथ्वीसुब्बा गुरुङ भन्छन्: सत्ता गठबन्धन टुट्दै छ



लमजुङ- नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धन टुट्ने बताएका छन् । उनले गठबन्धनका लागि एमसीसी ‘सर्पको मुखमा पुगेको छुचुन्द्रो जस्तै’ भएको टिप्पणी गरेका छन् ।

एमसीसी पास भएमा सत्ता गठबन्धन टुट्ने उनले दाबी गरे । प्रेस चौतारी नेपाल लमजुङ शाखाले आयोजना गरेको सम्मान तथा पत्रकार भेटघाट कार्यक्रमलाई लमजुङको बेंसीसहरमा शुक्रबार सम्बोधन गर्दै गुरुङले सत्ता गठबन्धनलाई एमसीसी निल्नु न ओकेल्ने भएको बताए ।

‘सत्ता गठबन्धनको लागि एमसीसी सर्पको मुखमा पुगेको छुचुन्द्रो जस्तै भएको छ । सर्पको मुखमा छुचुन्द्रो परेपछि सर्पले आँखा देख्न छोड्छ । निलेमा सर्पको मृत्यु हुन्छ’ उनले भने, ‘अहिलेको गठबन्धन त्यस्तै हो, एमसीसी पास भए सत्ता गठबन्धन टुट्छ ।’

उनले एमाले एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे । ‘हाम्रो पार्टी एमाले आजको मितिसम्म एमसीसी पास गर्नुपर्ने पक्षमा छैन’ उनले भने, ‘अमेरिकाको ५६ अर्ब नलिएकै कारण नेपालमा विकास हुँदैन भन्ने कुरा पत्यारिलो छैन ।’ उनले १७ खर्बको बजेट हुने मुलुकमा अमेरिकाको ५६ अरब ठूलो कुरा नभएको बताए ।

‘यो राजनीतिक विषयसँग जोडिएको छ । यो अन्तत्वोगत्व इन्डो प्यासिफिकसँगै जोडिएको विषय हो । यसलाई कसरी बुझ्ने भन्नेमात्रै हो’ उनले भने, ‘अब हामी अमरिकी ध्रुवमा जाने कि चीनको ध्रुवमा जाने भएको छ । कुनै पनि ध्रुवमा नजोडी नेपालले दुवैलाई सम्तुलित बनाएर बस्दा उपयुक्त हुन्छ ।’

उनले सत्ता गठबन्धन गम्भीर समस्यामा फसकेको आरोप लगाउँदै सत्ता गठबन्धन धेरै नटिक्ने बताए । ‘संकट त कहाँ छ भने विजातीय शक्तिको गठबन्धन छ । यो सत्ता स्वार्थ्यको लागि हो । त्यस्तो अनौठो खोर जहाँ बाघ, बाख्रा, सर्प, विच्छी, भ्यागुतो छ । कस्ले कतिबेला कस्लाई खान्छ, थाह छैन’ उनले भने, ‘अर्को सिंह देखेर सबै डराएका छन् । त्यही डरले सबै एउटै खोरमा थुनिनु परेको छ ।’

उनले कम्युनिस्ट प्रगतिशील शक्तिबीच चुनावमा गठबन्धन हुनसक्ने पनि बताए । ‘हामी एमाले एक्लै बहुमत ल्याउने गरी अघि बढेका छौं । माधव नेपाल, झलनाथ खनाल बाहिरिनु भनेको शरीरको २/४ वटा रौं झरेजस्तो हो’ उनले भने, ‘सिंगो ज्यान बाँकी छ । ज्यान बाँकी भएपछि रौं पलाइसकिएको छ ।’ उनले नवौं महाधिवेशनमा २ लाख ६६ जहार ८ सय ७१ जना पार्टी सदस्य रहेकोमा थप भएर दसौं महाधिवेशनमा ८ लाख ५५ हजार ४ सय ५३ जना पुगेको बताए ।

‘गठबन्धन कायम नभएमा एमालेले सिध्याउँछ भन्ने मानसिकता बोकेर हिँडेका छन् । एमालेसँग सत्ता गठबन्धन नै डराएको छ’ उनले भने, ‘गठबन्धन टुटेमा आफ्नो अस्तित्व नै समाप्त हुने डरले प्रचण्ड, माधव नेपालहरु गठबन्धन कि गठबन्धन भनिरहेका छन् ।’

उनले ५ बर्ष सरकार चलाउने भनेर निर्वाचित भएको सरकारलाई ढालेको भन्दै अब एमालेले बहुमतको सरकार चलाउने दावी उनले गरे । ‘अहिले ५ बर्ष सरकार चलाउन गाह्रो भयो । अब एकल बहुमतको सरकार चलाएर एमाले विकसित राष्ट्रयको दाँजोमा नेपाललाई लैजान चाहन्छ । त्यसका लागि एमालेको बहुमत आवश्यक छ’ उनले भने । उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई सार्थक तुल्याउन एमाले नेतृत्वकै सरकार आवश्यक रहेको बताए ।