मुख्यमन्त्री गुरूङ प्रधानमन्त्री ओलीसंग असन्तुष्ट - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

मुख्यमन्त्री गुरूङ प्रधानमन्त्री ओलीसंग असन्तुष्ट



पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ प्रधानमन्त्री केपी ओलीसंग असन्तुष्ट देखिएका छन् । गुरुङले प्रधानमन्त्री ओलीले संघीयताविरूद्धका गतिविधि गरिरहेको आरोप लगाए।

सिंहदरबारबाटै संघीयताविरोधी गतिबिधि भैरहेकाले प्रधानमन्त्री ओलीले समेत संघीयता नबुझेको आरोप लगाए । यसअघि पनि संघीयता कार्यान्वयनमा प्रधानमन्त्री केपी ओली बाधक बनेको आरोप लगाउँदै आएका गुरूङले फेरि यस्तो आरोप लगाएका छन् ।

संघीयताको खास कार्यन्वयनमा प्रधानमन्त्रीदेखि बालुवाटारमा बस्नेहरूनै बाधक बनेको उनको आसय थियो । काठमाडौंको ‘माइन्डसेट’ले आफूलाई काम गर्न नदिएको उनले दाबी गरे।

उनले भने, ‘स्थानीय तह त हिजो पनि थियो, संघीय सरकार उहिल्यैदेखि छँदैछ, नयाँ संरचना भनेको प्रदेश हो, यो कुरा माथि बस्नेले बुझ्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरू, प्रमुख सचिवहरूदेखि लिएर विभागीय प्रमुखहरू सबैले बुझ्नुपर्छ कि पर्दैन यो कुरा ? त्यो नबुझेको भएर हामीलाई चुनौती भयो।’

उनले अहिलेसम्म संघीय सरकारबाट सोचेजस्तो सहयोग कहिल्लै नपाएको गुनासो समेत गरे । प्रदेश सरकार गठन गर्दादेखि नै सोचेजस्तो प्रभावकारी सहयोग संघीय सरकारबाट नपाएकोगुरूङको गुनासो छ।

संघीयता कार्यान्वयनमा जहाँ पनि संघीय सरकारले नै भाँजो हालेको भन्दै एउटा मन्त्रालयको उदाहरण बताएका थिए । जनताको साथ र समर्थन हुँदाहुँदै पनि धेरै काम गर्न नसकेको गुरुङले बताए ।

गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा बोल्दै उनले प्रधानमन्त्रीसँग १ खर्ब रुपैयाँ बजेट माग गरेको जानकारी दिए। ‘प्रधानमन्त्रीलाई १ खर्ब रुपैयाँ बजेट दिनुस् भनेको छु। मलाई मात्र होइन, अरू प्रदेशलाई पनि दिनुस्। त्यति बजेट पायो भने गण्डकी प्रदेश यो दाबा गर्छ १० वर्षभित्र एसियाकै नमूना गाउँ कस्तो हुन्छ भनेर देखाउँछौं,’ उनले भने।

कार्यक्रमभर उनले माथिबाट सहयोग नपाएको र प्रधानमन्त्री कार्यालय र मन्त्रालयहरू नै संघीयताविरोधी भएको गुनासो गरेका थिए ।