आफ्नै नेताहरूका कारण दुई मतले हारे गुरूराजले - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

आफ्नै नेताहरूका कारण दुई मतले हारे गुरूराजले



काठमाडौं– नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरेले आफ्नै नेताहरूका कारण चुनाव हारेका छन् । त्यो पनि २ मतले मात्रै । नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे कांग्रेस झापाका पूर्वसभापति उद्धव थापासँग दुई मातन्तरले पराजित भए ।

प्रदेश १ को सभापतिमा घिमिरे विजयी हुने पक्का जस्तै मानिएको थियो । खासगरी संस्थापन इतर समूहले घिमिरे करिब २५० मतले विजयी हुनेमा ढुक्क थियो। तर, मतगणना सकिँदासम्म परिस्थिती फेरियो। र, पासा पल्टाउँदै थापा दुई मतले विजयी भए।

सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौलाको समर्थन पाएका थापाले ८४४ मत प्राप्त गर्दा घिमिरेले ८४२ मत प्राप्त गरे। अहिले घिमिरेको पराजयको कारण संस्थापन इतर समूहमा खोजी भइरहेको छ। घिमिरे पराजित भएपछि मोरङ कांग्रेसमा उथलपुथल देखिएको छ। र, नेता–कार्यकर्ताले घिमिरेको हारमा तीन केन्द्रीय नेतालाई दोष दिइरहेका छन्।

मतदान स्थलमै पुगेर पनि केन्द्रीय नेताले मतदान नगर्दा घिमिरे हारेको टिप्पणी नेता–कार्यकर्ताको छ। मतदान स्थलमै उपस्थित भएर पनि नेताहरू डा. शेखर कोइराला, सुजता कोइराला र महेश आचार्यले मतदान गरेका थिएनन्। उनीहरूले मतदान गरेको अवस्थामा घिमिरेले एक मतले जित्ने अवस्था रहन्थ्यो। तर, तीन नेताले भोट नहालेका कारण घिमिरेले पराजय भोग्नुपरेको मोरङ कांग्रेसका एक नेताले बताए।

केन्द्रीय नेताहरू सिटौला, रक्षामन्त्रीसमेत रहेका मिनेन्द्र रिजाल, अमृत अर्यालले भने मतदान गरेका थिए। तर, कोइरालाद्वय र आचार्यले भने मतदान गरेनन्। प्रवक्ता विश्वप्रकाश शर्मा भने मतदान गर्न गएका थिएनन्। यस्तै ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा र विजयकुमार गच्छदार पनि भोटदिन गएका थिएनन्।