गुल्मीमा पाँच वर्षकी बालिका पनि संक्रमित : थपिए नयाँ ११ जना - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

गुल्मीमा पाँच वर्षकी बालिका पनि संक्रमित : थपिए नयाँ ११ जना



गुल्मी- गुल्मीमा मंगलबार थप ११ जना नयाँकोरोना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।

मुसिकोट नगरपालिका ३०, २९, २८, २१ र २० वर्षका पुरुष तथा २६ वर्षकी महिला र ५ वर्षकी बालिकामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

यसैगरी मुसिकोटबाट रिफर गरेर भैरहवामा उपचारत अर्का एक जनामा पनि कोरोना पुष्टि भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक ढालबहादुर जिसीले जानकारी दिए । योसँगै मुसिकोट नगरपालिकामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ११ पुगेको छ ।

यस्तै रेसुङ्गा नगरपालिकाका वडा नम्बर ३ का ४८ वर्षका पुरुष, वडा नम्बर ६ का १९ वर्षका पुरुष र वडा नम्बर १४ का २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताएका छन् ।

यससँगै गुल्मी जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा हालसम्म ३७२९ जनाको आरडिटी बिधिबाट परीक्षण गरिएको छ । पीसीआर बिधिबाट परीक्षण गर्न ७०६ जनाको स्वाब संकलन गरिएकोमा ४०५ जनाकोमात्र रिपोर्ट आएको छ । ३०१ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताएका छन् ।

गुल्मी जिल्लामा २ हजार ८०९ जना क्वारेन्टिनमा छन् । भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुलाई ५ हजार ३ सय ८ बेडको क्वारेन्टिन तयार गरिएको छ । जिल्लामा हाल ७७ बेडको आइसोलेसन बेड तयार गरिएको छ ।