गृहमन्त्रीको आदेशमा ट्रमा सेन्टरका डाक्टरमाथि दुर्ब्यबहार - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गृहमन्त्रीको आदेशमा ट्रमा सेन्टरका डाक्टरमाथि दुर्ब्यबहार



काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’को आदेशमा वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरमा कार्यरत एक डाक्टरलाई ‘अपहरण शैली’मा गृह मन्त्रालय लगेर धम्की दिइएको छ।

अस्पतालको ओपिडीमा बिरामी जाँचिरहेका डा भोजराज अधिकारीलाई मंगलबार दिउँसो गृह मन्त्रालयकै गाडीमा मन्त्रालय लगेर धम्की दिइएको हो। डा अधिकारीलाई गलत मेडिकल रिपोर्ट बनाउन दबाब दिइएको छ।

‘मन्त्रालयमा गृहमन्त्रीले बोलाएको छ’ भनेर करिब १ घन्टा राखेपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी पथिकले गलत रिपोर्ट ‘बनाउनुहोस्’ भन्दै दबाब दिएका हुन्।

डा अधिकारीले ३४ वर्षभन्दा लामो चिकित्सकीय अभ्यासका क्रममा ‘मेडिकल इथिक्स’भन्दा बाहिर बसेर काम नगरेको भन्दै गलत रिपोर्ट नबनाउने अडान राखेपछि छाडिएको थियो।

डा अधिकारीले गृहमन्त्रालयमा आफूलाई कैदीलाई झैँ केरकार गरिएको बताए। ‘उहाँहरुले मलाई निकै तनाव दिनुभयो। प्रहरीले कैदीलाई केरकार गरेझैँ गर्नुभयो,’ डा अधिकारीले भने, ‘यसले मलाई निकै चित्त दुखेको छ। गृहमन्त्रीको सल्लाहकारले मलाई हाम्रो महान् योद्धाहरुले भने अनुसारकै रिपोर्ट बनाउनुहोस् भन्दै निर्देशनात्मक आदेश दिए।’

डा अधिकारीले आफूले आजसम्म चिकित्सकीय मर्यादा विपरीत काम नगरेका कारण यो कुरामा पनि जे सत्य हो त्यही लेख्छु भनेर जानकारी दिएको बताए।

बिरामी जाँचिरहेको अवस्थामा ‘अपहरण शैली’मा मन्त्रालय लगेर अनावश्यक दबाब दिएपछि डा अधिकारीले ट्रमा सेन्टरमा मानसिक तनाव दिइएको भन्दै निवेदन दिएका छन्। डा अधिकारीको निवेदनपछि अस्पतालले अर्को व्यवस्था नभएसम्मका लागि मेडिकल रिपोर्ट नबनाउने र अपाङ्गता सिफारिस नगर्ने निर्णय गरेको छ।