गृह मन्त्रालयले थाल्यो निर्वाचनको सुरक्षा तयारी - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

गृह मन्त्रालयले थाल्यो निर्वाचनको सुरक्षा तयारी



काठमाडौं- सरकारले प्रतिधिसभा निर्वाचनको सुरक्षा तथा तयारी समिति गठन गरेको छ । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै सरकारले त्यसको तयारी तीव्र पारेको हो ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति घोषणा गरेको छ । प्रधानमन्त्री ओलीको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा समिति गठन गरेका छन् ।

समितिमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहसचिव सदस्य रहने बताइएको छ । गृहमन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव प्रेमला लामिछानेलाई समितिको सदस्य सचिव तोकिएको छ ।

समितिलाई सुरक्षा संवेदनशिलताको आधारमा जिल्लागत विवरण, मतदान स्थल, मतदान केन्द्र, निर्वाचन विरोधीहरुका गतिविधिको समीक्षा र सुरक्षा निकायको जिम्मेवारी र भूमिकालगायतका विषयमा विवरण तयार पार्न निर्देशन दिइएको छ ।