गृह मन्त्रालयको निर्णय: उद्धार तथा राहतका लागि तत्काल हेलिकप्टर परिचालन
काठमाडौँ – देशभर लगातारको वर्षाले निम्त्याएको विपदका कारण अलपत्र परेका तथा प्रभावित बनेकाहरूलाई उद्दारका लागि हेलिकप्टर प्रयोग गरिने भएको छ ।
देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण प्रभावित भएकाहरुको उद्धार तथा राहत कार्यलाई तीव्र पार्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।
बुधबार बिहानै मन्त्रालयमा गृहमन्त्री खगराज अधिकारी र सुरक्षा निकायका प्रतिनिधिसहितको बैठक बसेर राहत तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।
गृह पदाधिकारीका अनुसार उद्धार तथा राहतका लागि हेलिकप्टर तयारी अवस्थामा छन् । आवश्यक परेका ठाउँमा हेलिकप्टरबाट उद्धार तत्काल सुरु हुने गृह मन्त्रालयले जनाएको छ । सुरक्षा निकायलाई पनि उद्धार तथा राहतका लागि खटिन गृह मन्त्रीले निर्देशन दिएको जनाइएको छ ।
लगातारको वर्षाका कारण सिन्धुपाल्चोक, मनाङसहितका जिल्लामा बाढी तथा पहिरोले ठूलो क्षति गरेको छ ।