गृहमन्त्रीको निर्देशन: राष्ट्रपतिविरुद्ध नारा लगाउनेलाई कारबाही गर्नु - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

गृहमन्त्रीको निर्देशन: राष्ट्रपतिविरुद्ध नारा लगाउनेलाई कारबाही गर्नु



काठमाडौं । अखिल नेपाल महिला संघ(अनेमसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरु विरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेहरु विरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो ।

लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो बिचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानविय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति माथि अशोभनिय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन् । उनले सम्बन्धित निकायलाई छानविन गरी कारबाही गर्ने निर्देशन दिएको पनि बताए ।

नाराबाजी गर्ने विरुद्ध कानुनी कारबाही गरिनुपर्ने अन्यथा आफुहरु नै कानुनी प्रक्रियामा जाने अनेमसंघकी नेतृ सर्मिला कार्कीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै विभिन्न राजनीतिक दलहरु सरकारको असंवैधानिक कदम भन्दै आन्दोलित भएका छन् । आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नाराबाजी हुने गरेको छ ।