रुँदै ग्रिजम्यानले भने: दुई तारासहितको जर्सी पहिला मै किन्छु ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रुँदै ग्रिजम्यानले भने: दुई तारासहितको जर्सी पहिला मै किन्छु !



विजयको खुशी अपत्यारिलो तरिकाले आउँछ वा वास्तविक भए पनि केही छिन साँच्चै हो त ? भने जस्तो हुन्छ । अनि कहिले काहिँ जित लगत्तै उत्सवको साटो आँसु बनेर खुशी निस्कन्छ ।

नयाँ विश्व विजेता फ्रान्सका एन्टोनी ग्रिजम्यानलाई यस्तै भयो, आइतबार राति फ्रान्स क्रोएसियालाई हराएर फ्रान्स विश्व विजेता बन्यो । फाइनलमा गोल गरेका ग्रिजम्यानका आँखाबाट आँसु खुशीका रुपमा निस्किए ।

उनी आफ्नो देशलाई दोस्रो पटक विश्व विजेता बनाउने माध्यम बन्न पाएकोमा खुशी छन् । उपाधि उचालेपछि ग्रिजम्यानले फिफा डट कमका पत्रकारसँग आफ्नो खुशी साटे र भने, ‘विश्वास गर्नुस्, दुईवटा तारसहितको फ्रान्सको जर्सी किन्ने म नै पहिलो हुनेछु ।’

फ्रान्सले यसअघि सन् १९९८ मा विश्वकपको उपाधि जितेको थियो । ड्रेसिङ्ग रुममा पउल पोग्बा र केलियन एमबाप्पेसँग गीत गाउँदै नाच्दै गरेर खुशी मनाएर निस्कँदै गर्दा उनले भने, ‘हामी निकै खुशी छौँ । गर्व लागिरहेको छ, हामी यो खुशी यसरी नै बढ्दै गएको हेर्न चाहन्छौँ र फ्रान्सेली नागरिकसँग साट्न चाहन्छौँ ।’

फ्रान्सको उपाधि यात्रामा ग्रिजम्यान र एमबाप्पेले समान चार चार गोल गरेका छन् । फाइनलमा ग्रिजम्यानको फ्रि–किक क्रोएसियाका मारियो मान्जुकीले आत्मघाती गोलमा परिणत गरे । त्यसपछि पाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गरे ।

उनले भने, ‘मलाई यस्तो खेल मन पर्छ, कि जित कि बाहिर जाउ । यस्तै बेलामा हो मैले आफूलाई विश्वास गर्ने र उत्कृष्ट हुन सक्ने पनि ।’

ग्रिजम्यान एउटै विश्वकपमा धेरै गोल गर्ने फ्रान्सेली खेलाडीको सूचिमा दोस्रो नम्बरमा छन् । सन् १९५८ को विश्वकपमा १३ गोल गरेका फोन्टाइनी उनी भन्दा अघि छन् । तर उनलाई आफू भन्दा पनि टिममा विश्वास छ ।

उनले भने, ‘आज हामी विश्व विजेता बनेका छौँ, यो सामूहिक प्रयासको फल हो, एक्लै केही पनि गर्न सकिँदैन ।’ ग्रिजम्यानले एडिडास ब्रोन्ज बल र एडिडास सिल्भर बुट अवार्ड जितेका छन् ।