शहीद गोविन्द गौतमको हत्या भएको ठाँउमा राष्ट्रिय गीत घन्कियो - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

शहीद गोविन्द गौतमको हत्या भएको ठाँउमा राष्ट्रिय गीत घन्कियो



‘नेपाली कलाकार प्रति भारतीय एसएसबीले गर्यो दुर्ववहार’

हेमन्त न्यौपाने / कञ्चनपुर ।

भारतीय अतिक्रमण र ज्यादतीको विरुद्धमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलिबाट मृत्यु भएका शहीद गोविन्द गौतमको हत्या भएको ठाँउमा कृष्ण कंडेलको इन्द्रेणी ग्रुपले राष्ट्रिय गीत घन्काएको छ ।

बेलौरी महोत्सव कार्यक्रमका लागि काठमाडौबाट कञ्चनपुर आएको इन्द्रेणी ग्रुपले ऐतिहासिक भुमि आनन्दबजार पुगेर विहिबार विहान राष्ट्रिय भाकाको गीत गुन्जाएको हो । नेपाल सरकारले सीमा क्षेत्रको पीडालाई महशुस गर्न नसकेको अवस्थामा सीमाबाटै राष्ट्रिय भाकाको गीत रेकर्ड गराएर सरकारलाई दबाब दिन खोजेको इन्द्रेणी ग्रुपका गायक कृष्ण कडेलले बताउनु भयो । नेपाली भुमिमै गीत रेकर्ड गराउने उद्देश्यले पुगेका उनीहरुलाई एसएसबीले दुर्व्यावहार गरेको छ । शहिद गोविन्द गौतमले शहादत प्राप्त गरेको भुमि तथा आसपासको दृश्यलाई कैद गरेका इन्द्रेणी ग्रुपको क्यामेरा खोसेर फुटेज डिलिट गरियो ।

सशस्त्र प्रहरी बल अस्थायी प्रहरी क्याम आनन्द बजारका प्रमुख प्रहरी सहायक निरीक्षक अमृत कडायतकै अगाडी नेपाली कलाकार माथी दुर्व्यावहार समेत भएको छ । एसएसबीको व्यावहारबाट पछि हटेका नेपाली कलाकारले दशगजा क्षेत्रबाट २ सय मिटर तर्फ नेपाली भुमिमा नेपाली गीत घन्काए ।

यस वडाका वडाअध्यक्ष प्रेम बहादुर बस्नेत, उद्योग बाणिज्य संघ पुनर्वासमा पुर्वअध्यक्ष वीरवल विश्वकर्मा, नेकपाका स्थानीय प्रभावशाली नेता पल्लबराज भट्ट, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीयहरुको उपस्थितिमा दबाबमुलक कार्यक्रमको आयोजना गरिएको छ ।

सीमावर्ती क्षेत्रका वासिन्दाहरुसंग गायक कृष्ण कडेलले सीमाका समस्यामा केन्द्रित हुँदै प्रत्यक्ष दोहोरी समेत गाए । कञ्चनपुरको आनन्दबजारमा २०७३ फागुन २६ गते सहिद गोविन्द गौतमको हत्या गरेको थियो । भारतीय हस्तक्षेपका विरुद्धमा एसएसबीसंग ढुंगामुढा गरेर लड्दालड्दै गोविन्द गौतमको एसएसबीले गोलि प्रहार गरेर हत्या गरेको थियो । सो घटना पछी पटकपटक सीमा समस्या समाधान हुने भनिएता पनि सीमा समस्या समाधान हुन सकेको छैन । सीमा समस्या समाधान नहुँदा सीमाक्षेत्रका जनताले आफ्नै लालपुर्जा भएको जमिनमा खेती गर्न पाएका छैनन् भने सीमा वारपार गर्ने नेपालीले अनाहकमा दुर्ववहार सहनु परिरहेको छ ।