भारतीय अभिनेता गोविन्दाले भने नेपाल साहस र प्रेमको धर्ती हो ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

भारतीय अभिनेता गोविन्दाले भने नेपाल साहस र प्रेमको धर्ती हो !



काठमाडौं । काठमाडौंमा आइतबार हुन लागिरहेको ‘एलजी फिल्म अवार्ड’मा सहभागी हुन बलिउड सुपरस्टार गोविन्दा नेपाल आइपुगेका छन् ।

तीन दिनका लागि उनी छोरीलाई साथ लिएर दिउँसो १२ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

अवार्ड समारोहमा उनले बरिष्ठ फिल्म निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट प्रदान गर्नेछन् ।

काठमाडौं उत्रिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीहरुलाई धन्यवाद दिए ।

भारत भ्रमणमा रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गोविन्दालाई ‘ज्वाइँ’ भन्दै सम्बोधन गरेका थिए ।

सन् १९९० पछि उनी धेरै पटक नेपाल आइसकेका छन् । सन् २००९ मा काठमाडौं आएको बखत उनले भक्तपुरमा जग्गा किन्ने कुराले पनि ठूलो चर्चा पाएको थियो ।

अभिनेत्री मनीषा कोइरालाको विवाहमा सरिक हुन पनि उनी नेपाल आएका थिए ।

गोविन्दाकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् ।

आफ्नो गज्जबको डान्स स्टाइल र कमेडीका माध्यमबाट दर्शकको मनमा राज गरेका उनले ‘इल्जाम’ बाट बलिउडमा डेब्यु गरेका थिए । ९० को दशकका उनी सुपरहिट अभिनेता हुन् ।

उनले नेपाल बसाईको क्रममा पशुपतिको दर्शन गर्ने र चन्द्रागिरी हिल्स् पुग्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम छ ।