गोरखामा बहराइनबाट आएका व्यक्ति कोरोना पोजेटिभ - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

गोरखामा बहराइनबाट आएका व्यक्ति कोरोना पोजेटिभ



गोरखा-गोरखामा पनि एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । विदेशबाट फर्किएका गोरखाका एक युवाको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको हो।

मंगलवार आरुघाटको स्वास्थ्य शाखाले कोरोनाको द्रुत परीक्षण विधिबाट परीक्षण गर्दा ३१ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएको गाउँपालिका अध्यक्षले जनाएका छन् ।

ती युवा बहराइनबाट गत चैत १ गते नेपाल आएका थिए। विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा उक्त युवाको रिपोर्ट पोजिटिभ देखिएको बताइएको छ ।

अहिले उनलाई आइसोलेसनमा राखेर थप परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। यस्तै फागुनमा दुवइबाट फर्किएका ३१ वर्षीय अर्का एक जनाको आरडिटिमा रिपोर्ट नेगेटिभ आए पनि उनको पनि स्वाब काठमाडौं पठाइएको छ।

उनीहरु दुवैजना आरुघाट गाउँपालिका वडा नम्बर ५ का हुन्। यसअघि उनिहरुलाई कोरोनाका कुनै लक्ष्यण नदेखिएको बताइएको छ। उनीहरुको परिवारलाई होम क्‍वारेन्टाइनमा राखिएको छ।

स्वास्थ्य कार्यालयको आयेजनामा आरुघाट गाउँपालिकाको स्वास्थ्य शाखाले विदेशबाटफर्किएका २२ जनामध्ये २० जनाको कोरोनाको द्रुत परीक्षण विधिबाट परीक्षण गरेको थियो।