गोर्खा ब्रुअरीमाथि कारबाही: टुबोर्ग, गोर्खा र कार्ल्सबर्ग बियरका लाखौँ कार्टुन रोकिए - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

गोर्खा ब्रुअरीमाथि कारबाही: टुबोर्ग, गोर्खा र कार्ल्सबर्ग बियरका लाखौँ कार्टुन रोकिए



काठमाडौं- दशैँको मुखमा गोर्खा ब्रुअरीलाई ठुलो धक्का लागेको छ । आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरीका सानमिगल, टुबोर्ग, गोर्खा र काल्सबर्ग बियर बजारमा पठाउन रोक लगाएको छ ।

राजश्व विभागले गुणस्तर नपुगेको भन्दै वियरबाट लोकल रक्सीमा घटुवा गरेको गोर्खा ब्रुअरीले ९० करोड अन्तःशुल्क चुक्ता नगरेसम्म बजारमा लैजान रोक लगाएको हो। यस्तोमा नयाँ दर अनुसारको ९० करोड नबुझाए गोर्खा ब्रुअरीको ब्यापार रोकिने छ ।

वियरको गुणस्तर नपुगेर थप गरेको अन्तःशुल्कसहितको रकम चुक्ता गरेपछि मात्रै बजारमा लैजान अनुमति दिने शर्तसहितको पत्र विभागले पठाएको छ।

गोर्खा ब्रुअरीका सानमिगल, टुबोर्ग, गोर्खा र काल्सबर्गका ४ लाख ३७ हजार बक्स गोदाममा छ। विभागको निर्णयले विगत एक हप्तादेखि गोर्खा ब्रुअरीका वियर बजारमा पठाईएको छैन ।

विभागले ५० प्रतिशतभन्दा कम जौको मात्रा भएको वियरलाई लोकल रक्सीको श्रेणीमा राख्ने र अन्तःशुल्क प्रतिलिटर ४ सय २३ रुपैयाँ नतिरेसम्म बजारमा लैजान रोक लगाएको जनाएको छ ।कानून अनुसार ५० प्रतिशतभन्दा कम जौको मात्रा भएको माल्टको अन्तःशुल्क लोकल रक्सी सरह प्रतिलिटर ४ सय २३ रुपैयाँ लाग्छ।

हालसम्म ५० प्रतिशतभन्दा बढी जौको मात्रा भएको वियरमा अन्तःशुल्क प्रतिलिटर १ सय ६५ रुपैयाँमात्रै कम्पनीले तिर्दै आएको थियो ।

यसअघि १ सय ६५ रुपैयाँ तिरेर बजारमा गएका गोर्खा ब्रुअरीका ति वियर अब भने स्थानीय रक्सीलाई लाग्ने सरहको अन्तःशुल्कको समूहमा परेकाले बढी तिर्नुपर्ने भएको हो।

स्टक रहेका ४ लाख ३७ हजार बक्स वियरमा आन्तरिक राजश्व विभागले अनुगमनपछि गुणस्तर घटेकाले उच्च अन्तःशुल्क लगाउने निर्णय गरेको हो।

कम्पनीले भने कर नातिर्नको लागि राजनीतिक दलका नेता र मन्त्रीहरूसंग लबिङ तिब्र पारेको बुझिएको छ ।