नैतिक संकटमा परेपछि गोप्य परामर्शमा ओली, भावी रणनीति तय हुँदै - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

नैतिक संकटमा परेपछि गोप्य परामर्शमा ओली, भावी रणनीति तय हुँदै



काठमाडौं- संसद विघटन गरेर हेरफेर गरेको मन्त्रिपरिषद्का मन्त्रीहरूलाई बर्खास्त गर्नेगरी सर्वोच्चले गरेको आदेशले तनावमा परेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले आन्तरिक छलफलमा छन् । वैधतामै प्रश्न उठाउँदै सर्वोच्च अदालतले मन्त्रीहरूको जिम्मेवारी खोसेपछि नैतिक संकटमा परेका ओली भावी रणनीति बनाउन जुटेका हुन्।

प्रधानमन्त्री ओलीले कतिपय अनौपचारिक छलफल गरिरहेका छन् भने कतिपय गोप्य परामर्श गरिरहेको बालुवाटार स्रोत बताउँछ । पहिले भन्दा केहि निराश देखिने गरेका उनले नेताहरूलाई भने हतास नहुन सल्लाह दिइरहेका छन् ।

सर्वोच्च अदालतले पछिल्ला सबैजसो कदममा अंकुश लगाएपछि रक्षात्मक बनेका ओली आफू निकट नेताहरूसंग परामर्शमा छन् । यसपटक भने प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा छलफलमा जुटेका छन् । पहिले पहिले तामझाम देखाएर बालुवाटारमा बैठक राखेर छलफल गर्ने ओलीले अहिले भने आन्तरिक रूपमा छलफल गर्न थालेका छन् ।

राजनीतिक रूपमा पनि विपक्षीहरूको मोर्चाबन्दी थप कसिलो बनाउन थालेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओली भावी रणनीति बनाउन जुटेका हुन् ।त्यसका लागि उनले बुधबार दिनभर आफू पक्षीय नेताहरुलाई बालुवाटारमा बोलाएर अब कसरी अघि बढ्दा राम्रो हुन्छ भनेर सुझाव मागेका छन् ।

ओलीले कानुन व्यवसायीहरूसँग पनि छलफल गरिरहेको बुझिएको छ । ओलीले बुधबार पनि दिनभर छलफल गरेका छन् । बालुवाटारमा विभिन्न नेताहरूलाई बोलाएर उनले छलफल गरिरहेको स्रोतले जानकारी दियो । छलफलमा ओली अदालतका पछिल्ला कदममा असन्तुष्टि जनाएको बताइएको छ ।

छलफलमा केहि नेताहरूले एमाले भित्रका असन्तुष्ट समुहलाई सबैभन्दा पहिला समेट्नुपर्ने सल्लाह दिएका थिए । यदि त्यस्तो भएको खण्डमा अदालतको मुद्दा पनि कमजोर बन्दै जाने भन्दै केहि नेताहरूले विपक्षी गठबन्धनकै कारण पनि अदालत हाबी भएको हुनसक्ने बताएका थिए ।

त्यसक्रममा ओलीले राजनीतिक मुद्दामा अदालतले अलि बढी हस्तक्षेप गर्न थालेको भन्दै राजनीतिक विषय राजनीतिक तबरबाटै समाधान खोज्नुपर्ने पक्षमा आफु रहेको बताएका थिए । नेताहरूको सुझाव अनुसार प्रधानमन्त्री ओलीले पार्टीको आधिकारिक बैठक बोलाउने तयारी गरेको समेत बुझिएको छ ।