कांग्रेस अधिवेशनमा मन्त्रीमाथि आक्रमण: कार्यक्रममै चल्यो गोली - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

कांग्रेस अधिवेशनमा मन्त्रीमाथि आक्रमण: कार्यक्रममै चल्यो गोली



जनकपुरधाम- नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा सर्लाहीमा गोली चलेको छ । वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा आइतबार गोली चलेको हो।

कांग्रेस सांसद अमरेशकुमार सिंहको निर्वाचन क्षेत्र बलरा नगरापलिका–९ अचलगढमा वडा अधिवेशनका क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह पुगेका थिए।

वडा अधिवेशनमा धाँधली भएको भनेर विरोध गरेपछि सांसद सिंहनिकट मानिसहरूले आफूसहित पिएसओमाथि आक्रमण गरेको मन्त्री सिंहले बताए।

मन्त्री सिंहका अनुसार सांसद सिंहको आक्रमणमा परी पिएसओ रामचन्द्र खंगका साथै कांग्रेस कार्यकर्ता रामचन्द्र महतो घाइते भएका छन्।उनीहरूले पिएसओको साथमा रहेको हतियार खोस्न खोजेपछि एक फायर भएको मन्त्री सिंहले बताए।

‘निर्वाचन अधिकृतलाई जबरजस्ती परिणाम घोषणा गर्न लगाइएको जानकारी हामीले पाएपछि वस्तुस्थिति बुझ्न त्यहाँ पुगेका थियौं,’ मन्त्री सिंहले भने,‘अमेरश सिंहका मानिसहरूले भाटा लिएर पिएसओको टाउकोमा एक्कासी आक्रमण गर्‍यो। पिस्तल पनि खोस्न खोजेको थियो। त्यही क्रममा पिएसओले एक राउन्ड फायर भएको छ।’

सर्लाही प्रहरीले दुई पक्षबीच विवाद हुँदा मन्त्री सिंहको पिएसओले एक राउन्ड हवाइ फायर गरेको बताए। दुवै पक्षबीच झडप हुने स्थिति आएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन्।

विवादपछि बलरा नगरपालिका वडा नम्बर ९ को वडा अधिवेशन स्थगित भएको छ। घाइते खंग र महतो दुवैजनाको मलंगवा अस्पतालमा उपचार भइरहेको छ।

दुई पक्षबीच विवाद हुँदा सर्लाहीमा दुईपटक स्थगित भइसकेको छ। शुक्रबार अबेर रातिसम्म दुवै पक्षबीच भएको छलफलमा आइतबार वडा अधिवेशन गर्ने सहमति जुटेको थियो।