सुनको मूल्य २ हजार डलरमाथि पुग्ने - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

सुनको मूल्य २ हजार डलरमाथि पुग्ने



एजेन्सी। यस वर्ष सुनको भाउ प्रतिऔंस २ हजार डलरमाथि पुग्ने विश्लेषण गरिएको छ । सोमवारको कारोबारमा सुनको भाउले नयाँ उचाई छोएपछि विश्लेषकहरुले यस्तो प्रक्षेपण गरेका हुन् ।

‘हामीलाई लाग्छ कि अहिलेको गतिले आगामी केही महीनामै सुनको भाउ प्रतिऔंस २ हजार डलरमाथि जानेछ । मुख्य प्रश्न त्यसपछि चाँहि भाउ कति बढ्छ भन्ने हो,’ कमनवेल्थ बैंक अफ अष्ट्रेलियाका खनिज, उर्जा कमोडिटिज विश्लेषक विवेक धारले भने ।

सुनको भाउ यो भन्दा निकै माथि मानौं प्रतिऔंस २ हजार ५०० डलरमा पुग्न भने अमेरिकाले ब्याजदर शून्य भन्दा तल झार्नु पर्नेमा उनले जोड दिएका छन् । सुनको भाउ र ब्याजदरबीच विपरित सह–सम्बन्ध रहेको छ । ब्याजदर बढी भएको अवस्थामा लगानीकर्ताहरुले पैसा बैंकमा राखेर ब्याज खान्छन् ।

तर ब्याज कम भएपछि लगानीकर्ताहरुले सुनमा लगानी बढाउँछन् र सुनको भाउले टेवा पाउँछ । कोरोना भाइरसको महामारीबीच अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले ब्याजदर शून्य आसपास झारेको छ । यूरोप र जापानले झैं अब अमेरिकाले पनि ऋणात्मक ब्याजदर कायम गर्छ कि गर्दैन भन्नेमा लगानीकर्ताको ध्यान छ ।

यस वर्षको अन्त्यसम्ममा सुनको भाउ प्रतिऔंस २ हजार डलरमाथि पुग्ने जे रोबर्ट एन्ड कम्पनीमा बहुमूल्य धातु डिलरमा प्रवन्ध साझेदार जोशुआ रोबर्ट बताउँछन् । कोरोना भाइरसको महामारी, कमजोर विश्व अर्थतन्त्रका कारण लगानीकर्ताहरु सुन थुपार्न हतारिएका छन् । ‘लगानीकर्ताहरु त्रस्त छन्, उनीहरु डराएको छन् यही डलरबीच उनीहरु सुनतर्फ दौडिरहेका छन्,’ जोशुआ भन्छन् ।

विश्वभर कोरोना भाइरसको संक्रमण कम हुने कुनै संकेत छैन । कतिपय देशमा लगभग नियन्त्रण भएको संक्रमण पुनः बढ्न थालेको छ । यस वर्षको अहिलेसम्मको अवधिमा सुनको भाउ ३० प्रतिशतले बढिसकेको छ ।