डेढ करोडको सुन जुत्ताभित्र ! दुई पक्राउ
काठमाडौं- जुत्ताभित्र सुन लुकाएर तस्करी गर्न खोज्ने दुई जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। १ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको सुनसहित दुई भारतीयलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
दुबईबाट काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर आर ४१५३०७४ बाहक २० वर्षीय राकेश पादीगेला र पि ६८९६३१५ वाहक २७ वर्षीय सन्ताषे गाउड कुदारवारलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट २ केजी ८ सय ३० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरु सुन तस्करीका भरिया भएको प्रहरीको भनाइ छ। भन्सारको एक्सरेमा उनीहरु पक्राउ परेको भन्सार कार्यालय प्रमुख नारायण सापकोटाले बताए।