गोल्छा समूहको धन्दा: नयाँ गाडीभित्र भेटिए ठुलो संख्यामा मोबाइल सेट
वीरगन्ज- गोल्छा समूहले वीरगञ्ज भन्सारबाट भित्र्याउन लागेको नयाँ गाडीभित्र ठुलो संख्यामा मोबाइल भेटिएका छन् । भन्सार पास गराउने क्रममा चेकजाँच हुँदा गाडीबाट मोबाइल बरामद भएको हो ।
सो समूहको जीओ अटोमोबाइल्सले ल्याएको फोर्ड गाडी हिजो वीरगञ्जको एकीकृत भन्सार चौकी आइसिपीमा चेकजाँच गर्दा विभिन्न ब्रान्डका ३३ वटा मोबाइल फेला परेको भन्सारका सूचना अधिकृतले जानकारी दिएका छन् ।
जीओले जाँचपासको लागि पेश गरेका १९ मध्ये २ वटा गाडीमा मोबाइल भेटिएको बताइएको छ । नेपाल भारत एकीकृत जाँच चौकीबाट भित्रिएर भन्सारको यार्डमा राखिएका गाडीमा मोबाइल फेला परेको हो ।
गाडीमा लुकाएर मोबाइल भित्र्याउन लागेको खुलेपछि हिजो जीओका एउटा पनि गाडी जाँचपास नभएको भन्सारले बताएको छ ।
नेपाल र भारत दुवैतर्फको एकीकृत निगरानीमा रहने आइसीपीबाट घोषणाभन्दा फरक पारेर पहिलो पटक मोबाइल भित्रिएको हो । रेडमी, रेड आई र ओप्पो ब्रान्डका मोबाइल बरामद भएको भन्सारले जनाएको छ ।